आशिष सुवेदी र सुलभ खरेल भिड्दै, स्वतन्त्र उम्मेदवारी दिँदै २०७९ का रास्वपा उम्मेदवार गणेश पौडेल ।
बुटवल — प्रतिनिधि सभाको उम्मेदवारको विषयलाई लिएर रूपन्देही निर्वाचन क्षेत्र नं २ मा विवाद बढेको छ । रास्वपाले केन्द्रबाटै दुई जनालाई टिकट दिएर पठाएपछि स्थानीय नेता–कार्यकर्ता पनि असन्तुष्ट बनेका छन् । धेरै कार्यकर्ता दुवै उम्मेदवारतर्फ विभाजित भएका छन् ।
रास्वपाले सोमबार बालेन्द्र शाह समूहका आशिष सुवेदीलाई टिकट दिएको थियो । उनी टिकट लिएर बुटवल आई तयारीका काम सुरु गरेका थिए । सोमबार राति फेरि रास्वपाकै सुलभ खरेललाई टिकट दिएपछि विवाद बढेको हो । दुवै उम्मेदवारले आधिकारिकता दाबी गर्दै उम्मेदवार मनोनयनको तयारी गरेका छन् । सुवेदी बालेन्द्र समूहबाट अहिले आएका उम्मेदवार हुन् भने खरेल यसअघि रूपन्देही–३ मा हुने भनिएको उपनिर्वाचनमा समेत उम्मेदवार दाबी गर्दै प्राइमरी इलेक्सनमा सहभागी भएका थिए । रूपन्देही–३ मा लेखजंग थापाले टिकट पाएका थिए । अहिले पनि उनी निरन्तर छन् ।
स्रोतका अनुसार पहिला नै टिकट लिएर आएका सुवेदीले अहिले माबाइल अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनले आफू नै आधिकारिक भएको दाबी गरेका छन् । पार्टीले टिकट खोसेको अवस्थामा स्वतन्त्रबाट पनि उम्मेदवारी दिने उनको तयारी रहेको उनी निटकहरूले बताएका छन् । त्यस्तै सुलभ खरेलले पनि आफूलाई पार्टीले उमेदवारी दर्ता गर्न निर्देशन दिएकाले बुटवल जानका लागि काठमाडौं एयरपोर्टमा रहेको र बुटवल पुगेर उम्मेदवारी दर्ता गर्ने बताए ।
पार्टीले भूगोलमा काम गरिरहेका र पार्टीका लागि योगदान गरेकालाई अपमान गर्दै नयाँ र भूगोल बाहिरकालाई टिकट दिएको भन्दै रूपन्देही रास्वपामा असन्तुष्टि बढेको छ । २०७९ मा एमालेका विष्णु पौडेलसँगै चुनाव लडेर १ हजार ३ सय ६६ मतले पराजित भएका गणेश पौडले पनि पार्टीको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । उनले पनि स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा छन् । रूपन्देही–२ मा एमालेबाट उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसबाट उद्योगी एवं व्यवसायी चुन्नप्रसाद पौडेल, नेकपाबाट सुवास पाण्डे (विश्वदीप)लाई उम्मेदवार बनाएको छ ।
रास्वपाका जिल्ला सभापति डा. बुद्धिप्रसाद शर्माले अहिलेसम्म दुवै उमेदवार मैदानमा रहेको र आधिकारिकता टुंगो नलागेको बताए । ‘हामीले केन्द्रमा छिटो आधिकारिक को हो टुंगो लगाइदिन भनेका छौं,’ उनले भने, ‘केहीबेरमै टुंगो लाग्दैछ ।’ उनले सामान्य असन्तुष्टि भए पनि आधिकारिकता टुंगो लागेपछि सबै समस्या समाधान हुने र पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिने बताए ।
