९ जनामा ३ जना पुराना अनुहार हुन् भने ६ जनाको डेब्यु उम्मेदवारी हो
डोल्पा — हिमाली जिल्ला डोल्पामा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सबैले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपाबाट धनबहादुर बुढा, एमालेबाट लंकबहादुर रोकाय, नेपाली कांग्रेसबाट कर्णबहादुर बुढा, उज्यालो नेपाल पार्टीबाट दिलबहादुर बिष्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, रास्वपाबाट देवसिंह ऐडी, राप्रपाबाट हरिप्रसाद डाँगी र स्वतन्त्रबाट ओमेन्द्रबहादुर केसीले उम्मेदवार बन्नका लागि मनोनयनपत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दामोदर पाडेलले जानकारी दिए।
एक निर्वाचन क्षेत्र भएको डोल्पामा उम्मेदवारका लागि मनोनयनपत्र दर्ता गराउनेमा नयाँदेखि पुराना अनुहारसम्म छन्।
९ जनामा ३ जना पुराना अनुहार हुन् भने ६ जनाको डेब्यु उम्मेदवारी हो। नेपाली कम्युनिस्ट पार्टीका बुढा, नेपाली कांग्रेसका बुढा र उज्यालो नेपाल पार्टीका बिष्ट पुराना अनुहार हुन्।
नेपाली कम्युनिस्ट पार्टीका बुढा यसअघि तीन पटक निर्वाचित सांसद हुन्। उनी चौथोपटकका लागि चुनावी प्रतिस्पर्धामा होमिएका छन्। उनका सहोदर दाइ कांग्रेसका बुढा २०६४ सालमा राप्रपाबाट चुनाव लडेर हारेका थिए। उज्यालो नेपाल पार्टीका बिष्ट यसअघिका संघीय चुनावमा कांग्रेस र स्वतन्त्रबाट चुनाव लडेर हारेका हुन्।
त्यसैगरी एमालेका रोकाय नयाँ अनुहार हुन्। उनी पहिलोपटक संघीय सांसदका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन्।
प्रगतिशीलका बुढा, रास्वपाका ऐडी, राप्रपाका डाँगी, मितेरी पार्टीकी जुनु र स्वतन्त्रका केसी पनि पहिलोपटक संघीय चुनावमा उम्मेदवारी दिएका हुन्।
स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका केसी नेपाली कम्युनिस्ट पार्टीका नेता समेत हुन्। उनले आफ्नै पार्टीका उम्मेदवार धनबहादुर बुढाविरुद्ध बागी उम्मेदवारी दिएका छन्।
