रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित १२ जना र रुकुम पश्चिमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मासहित १२ जनाले नै मनोनयन दर्ता गरेका छन् ।
रुकुम पूर्व — प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्व र पश्चिममा १२/१२ जनाले मनोनयन दर्ता गराएका छन् । विभिन्न दल तथा स्वतन्त्र गरी दुई जिल्लाबाट २४ जनाको उम्मेदवारी दर्ता भएको हो ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालसहित १२ जनाको मनोनयन दर्ता भएको छ । सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार नेपाली कांग्रेसबाट कुसुमदेवी थापा मगर, नेकपा एमालेबाट लीलामणी गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुनले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै मंगोल नेसनल अर्गनाइजेसनबाट ज्योति रोका मगर, नेसलन रिपब्लिक नेपालबाट धर्मकुमार बुढा, जनता समाजवादी पार्टीबाट शिरबहादुर बुढा, राप्रपाबाट रोशअ शाह, नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर र अमरसिंह पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै रुकुम पश्चिमबाट पनि जम्मा १२ जनाको उम्मेदवारी परेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रले अरु दलसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि यस क्षेत्रबाट २०६४ पछिका सबै निर्वाचनमा जित हात पार्दै आएका जनार्दन शर्माले नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट र नेकपाका तर्फबाट गोपाल शर्माले उम्मेदवारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट राजु केसी र नेकपा एमालेबाट नन्दराम देवकोटाले आ–आफ्नो उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन् ।
त्यसैगरी शाहीका अनुसार अन्य उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मनबहादुर शाही, राप्रपाबाट गोपाल खड्का, नेकपा माओवादीबाट चन्द्रबहादुर बुढा, नेमकिपाबाट धनबहादुर विक, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली, नेकपा संयुक्तबाट शेरबहादुर केसी र राष्ट्रिय जनमोर्चाबाट सत्यनारायन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको विरोधमा दाबीविरोधको समय निर्धारण गरिएको छ भने उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइनेछ ।
