क्षेत्र नं. २ मा मात्र ४१ उमेदवार, ठूला दलले उठाएनन् महिला उम्मेदवार, साना दल र स्वतन्त्र गरी २० जना महिला उम्मेदवार ।
बुटवल — प्रतिनिधि सभा निर्वाचनका लागि रूपन्देहीका ५ निर्वाचन क्षेत्रबाट मंगलबार १ सय ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युष्टि पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमोर्चासहित नयाँ दलहरू उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन क्षेत्र नं १ र ३ मा २/२, क्षेत्र नं २ मा १०, क्षेत्र नं ४ र ५ मा ३/३ जना महिला उम्मेदवार छन् ।
सबैभन्दा बढी रूपन्देही क्षेत्र नं २ बाट ४१ जनाको उम्मेदवारी परेको छ । २० जना स्वतन्त्र र १० जना महिला उम्मेदवार छन् । क्षेत्र नं २ बाट एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल, कांग्रेसका चुन्नप्रसाद पौडेल, रास्वपाका सुलभ खरेल, नेपाल जनसेवा पार्टीबाट कमल भुसाल (निकोलस), नेकपाबाट सुवास पाण्डे (विश्वदीप), राप्रपाबाट कर्भिका थापासहित २१ दलबाट उम्मेदवार बनेका छन् । क्षेत्र नं २ मा १० जना महिला उम्मेदवारले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले बताए । क्षेत्र नं २ मा १ लाख ३५ हजार ५० मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट हीराबहादुर केसी, एमालेबाट दधिराम न्यौपाने, रास्वपाबाट सुनिल लम्साल, नेकपाबाट घनश्याम यादव, जसपाबाट मोहम्मद अस्लम खान, राप्रपाबाट प्रज्वल बोहरासहित ३१ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं १ मा १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेका छन् । यस क्षेत्रमा २ जना मात्र महिला उम्मेदवार छन् ।
१ लाख ४ हजार ३५ मतदाता रहेको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट सुशील गुरुङ, एमालेबाट वासुदेव घिमिरे, रास्वपाबाट डा.लेखजंग थापा, राप्रपाबाट गौरव बोहरा र नेकपाबाट फैज अहम्मद खाँसहित ३६ जनाले उम्मेदवारी दिएका छन् । महिला उम्मेदवार ३ जना मात्र छन् । १ लाख १६ हजार १ सय ७२ मतदाता रहेको निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसबाट आशुतोष मिश्र, एमालेबाट प्रमोदकुमार यादव, नेकपाबाट बाबुलाल यादव, रास्वपाबाट कन्हैया बनियाँ, जनमत पार्टीबाट भोपेन्द्र यादव र जसपा नेपालबाट सर्वेन्द्रनाथ शुक्लसहित २२ जनाले उम्मेदवारी दिएका छन् । महिला उम्मेदवार ३ जना रहेका छन् । एमालेबाट उमेदवार बनेका यादव मंगलबार नै नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । त्यस्तै रास्वपाबाट उम्मेदवार बनेका बानियाँले प्रदेश सभा सदस्यबाट राजिनामा दिएर उम्मेदवार बनेका हुन् ।
त्यस्तै १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको क्षेत्र नं ५ मा नेपाली कांग्रेसबाट भरत शाह, एमालेबाट खिमलाल भट्टराई, रास्वपाबाट तौफिक अहम्मद खाँ, नेकपाबाट मोहम्मद वकिल मुसलमान, राप्रपाबाट मीनप्रसाद घिमिरेसहित २७ जना उम्मेदवारमध्ये महिला ३ जना मात्र रहेका छन् ।
