दैनिक १३ लाख मतपत्रको छपाइ हुँदै

समानुपातिकतर्फको एक करोड मतपत्र छापिसकियो ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

1.3 million ballot papers are being printed daily

काठमाडौँ — २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ एक करोड मतपत्र छापिएको छ। १ करोड ८९ लाख ३ हजार ५ सय ८९ मतदाता छन्। निर्वाचन आयोगले जनक शिक्षा केन्द्रलाई मतपत्र छाप्ने जिम्मा दिएको छ। नेपाली सेनाको सुरक्षा घेरामा मतपत्रको छपाइ कार्य भइरहेको छ।

मतदाता संख्याभन्दा ७ प्रतिशत बढी मतपत्र छापिनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्धारित संख्याको आधा हिस्सा छापिसकिएको बताए। दैनिक १३ लाख प्रति मतपत्र छापिँदै छ। आयोगले ९ माघसम्म समानुपातिकतर्फका सबै मतपत्र छापिसक्ने लक्ष्य राखेको छ। तर अहिले सरदर दैनिक १३ लाख छापिइरहेको र एक करोड मतपत्र अझै छाप्न बाँकी रहेकाले ३–४ दिन समय बढी लाग्न सक्ने देखिन्छ।

६ माघमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन हुँदै छ। दाबी–विरोध र मनोनयन फिर्ता लिने कार्यक्रमपछि ९ माघमा उम्मेदवारलाई निर्वाचन चिन्ह दिइसकेपछि प्रत्यक्षतर्फका मतपत्र छापिनेछन्। दुवैतर्फका मतपत्र जिल्लावार सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ।

कान्तिपुर संवाददाता

Link copied successfully