अछाम–१ मा एमालेले यस्तो अप्रत्याशित निर्णय लिनुको मुख्य कारण ‘भीम रावल फ्याक्टर’ लाई मानिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावललाई अछामको ‘हेभिवेट’ नेताका रूपमा हेरिन्छ । स्थानीय स्तरमा बलियो पकड बनाएका रावल मैदानमा आएपछि एमाले दबाबमा परेको हो ।
What you should know
अछाम — अछामको चुनावी राजनीति फेरि एकपटक नाटकीय मोडमा पुगेको छ । अन्तिम समयमा नेकपा एमालेले अछाम–१ बाट आफ्नै उम्मेदवारलाई पछि हटाएर नवघोषित प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदूरपश्चिम अध्यक्ष दीपक साउदलाई सूर्य चिह्नबाट उम्मेदवार बनाउने निर्णय गरेसँगै यहाँको चुनावी सरगर्मी थप रोचक बनेको छ ।
शनिबार साँझ मात्र एमालेले केन्द्रीय सदस्य झपट बोहरालाई उम्मेदवार बनाएको थियो । तर केही घण्टामै त्यो निर्णय उल्टियो । अन्ततः बोहराको टिकट काटियो र तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता दीपक साउद एमालेको उम्मेदवार बने । तत्कालीन विद्रोही माओवादीको आधार इलाका मानिदै आएको अछामको रामारोशनका साउदसँग भएको जनाधारको गणितीय हिसाब गरेर उनलाई टिकट दिइएको चर्चा हुन थालेको छ ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट एमालेले भीम रावलको नाम एकल सिफारिस गर्दा पनि एमाले अध्यक्ष ओलीले उनै बोहरालाई अन्तिम समयमा उम्मेदवार बनाएका थिए । तर अहिले भने अन्तिम समयमा बोहरालाई दिइएको टिकट साउदलाई थमाइएको छ । तत्कालीन माओवादीका केन्द्रीय सदस्यसमेत रहेका साउद अछामका पुराना नेतामध्येका एक हुन् ।
अछाम–१ मा एमालेले यस्तो अप्रत्याशित निर्णय लिनुको मुख्य कारण ‘भीम रावल फ्याक्टर’ लाई मानिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रावललाई अछामको ‘हेभिवेट’ नेताका रूपमा हेरिन्छ । स्थानीय स्तरमा बलियो पकड बनाएका रावल मैदानमा आएपछि एमाले दबाबमा परेको हो ।
एमाले अछामका एक नेताका अनुसार पार्टी अहिलेको अवस्थामा अछाम–१ मा करिब ६ हजार मतले पछि छ । ‘कांग्रेसले उम्मेदवार टुंग्याएकै छैन । भीम रावल मैदानमा आएपछि मत तान्न सक्नेलाई उम्मेदवार बनाउनु पर्ने भयो,’ ती नेताले भने, ‘रावलसँग डराएर होइन, अछाम–१ मा एमाले अहिलेको अवस्थामा करिब ६ हजार मतले पछि छ । ती मत कभर गर्न साउदलाई उम्मेदवार बनाउनैपर्ने भयो ।’
२०७० सालको संविधानसभाको चुनावमा एमालेबाट रावल र माओवादीबाट साउद आमुन्ने–सामुन्ने भएका थिए । तर अहिले परिस्थिति उल्टिएको छ । पहिले माओवादीबाट उम्मेदवार बनेर भेट गरेका साउद अहिले एमालेबाट र पहिले एमालेबाट चुनावी मैदानमा प्रतिस्पर्धा गरेका रावल नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार भएका छन् ।
