लुम्बिनीका दुई पूर्वमन्त्रीले प्रदेश सभाबाट दिए राजिनामा, प्रतिनिधि सभाको उम्मेदवार बन्दै

पूर्व आर्थिक मामिला मन्त्री दाङबाट र भौतिक पूर्वाधार विकास मन्त्री चौधरी बर्दियाबाट चुनाव लड्दै ।

माघ ५, २०८२

घनश्याम गौतम

Two former ministers from Lumbini resign from the provincial assembly, become candidates for the House of Representatives

What you should know

बुटवल — लुम्बिनी प्रदेशबाट निर्वाचित दुई जना प्रदेश सभा सदस्यले पदबाट राजिनामा दिएर प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दाङका धनबहादुर मास्की र उज्यालो नेपाल पार्टीबाट बर्दियाका धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्यबाट राजिनामा दिएर प्रतिनिधि सभाको उम्मेदवार बन्न लागेका हुन् ।

चौधरी यसअघि लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीको बर्दिया २ (२)बाट निर्वाचित भएका थिए । उनी बिहीबार मात्र नागरिक उन्मुक्ति पार्टी छोडेर कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको महासचिव बनेका थिए ।

नेपाली कम्युनिष्ट पार्टीका मास्की दाङ निर्वाचन क्षेत्र नं. ३ बाट र उज्यालो पार्टीका चौधरी बर्दिया–२ बाट उम्मेदवार बन्न लागेका हुन् । मास्की यसअघि तत्कालीन नेकपा माओवादी, एकीकृत समाजवादी र कांग्रेससहितको गठबन्धनबाट २०७९ को निर्वाचनमा दाङ ३ (२) बाट एमालेका हुकुमबहादुर बस्नेतलाई २ हजार १ सय ६३ मतान्तरसहित पराजित गरेका थिए । बस्नेतले २० हजार १ सय ५८ मत ल्याउँदा मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका थिए । मास्की लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । मास्कीले आइतवार नै प्रदेश सभा सदस्य पदबाट राजिनामा दिएको बताए । 

त्यस्तै बदिंया–२ बाट प्रतिनिधि सभा उम्मेदवार बन्न लागेका चौधरीले पनि प्रदेश सभा सदस्यबाट राजिनामा दिएका छन् । उनले आइतवार प्रदेश सभामा राजिनामा बुझाएको बताए । उनी २०७९ को निर्वाचनमा बर्दिया २ (२)बाट २० हजार १ सय २७ मतसहित बिजयी भएका थिए । उनले माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मानबहादुर थारुलाई ९ हजार १ सय ४३ मतान्तरले हराउँदै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका थिए । प्रदेश सभामा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका चौधरीले नागरिक उन्मुक्तिमा निरन्तर विवाद बढेपछि पार्टी नै छोडेर उज्यालो पार्टी रोजेका हुन् । 

‘मैले पार्टी सदस्य र प्रदेश सभा सदस्य दुवै पदबाट राजिनामा दिएर प्रतिनिधि सभा निर्वाचनको उमेदवार बन्दै छु,’ उनले भने, ‘प्रदेश सभामा आइतवार नै राजिनामा पठाएको छु ।’

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले दुवै प्रदेश सभा सदस्यले पदबाट राजिनामा दिएको पत्र सचिवालयमा प्राप्त भएको बताए । ‘आइतवार नै दुवै जनाको राजिनामा आइपुगेको छ,’ उनले भने, ‘अब सचिवालयले आवश्यक प्रक्रिया पूरा गरेर सोमबार साँझसम्ममा सूचना टाँस गर्ने तयारीमा छौं ।’

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully