रास्वपाले छान्यो दाङका दुई क्षेत्रमा पुराना र एकमा नयाँ उम्मेदवार

क्षेत्र नं. १ मा देवराज पाठक, २ मा विपिन कुमार आचार्य र ३ मा कमल सुवेदीले उम्मेदवारी दर्ता गर्दैछन् ।

माघ ५, २०८२

दुर्गालाल केसी

RSVP selects old candidates in two constituencies of Dang and new candidates in one

दाङ — राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि दाङका दुई क्षेत्रमा पुराना र एकमा नयाँ उम्मेदवार छनोट गरेको छ । क्षेत्र नं १ र ३ मा २०७९ कै उम्मेदवारलाई मौका दिएको छ भने २ मा भने नयाँ उम्मेदवार छनोट गरेको छ ।

क्षेत्र नं १ मा देवराज पाठक, २ मा विपिनकुमार आचार्य र ३ मा कमल सुवेदीले उम्मेदवारी दर्ता गर्दैछन् ।

पाठकले २०७९ को निर्वाचनमा क्षेत्र नं. १ मै रास्वपाबाट उम्मेदवार भई १३ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनका उम्मेदवार तत्कालिन नेकपा (एकिकृत समाजवादी) का नेता मेटमणी चौधरी २६ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी भएका थिए । चौधरी अहिले पनि उक्त क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार भएका छन् ।

सुवेदीले २०७९ को निर्वाचनमा क्षेत्र नं ३ मै रास्वपाबाट उम्मेदवार भई १५ हजार ३ सय २६ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगाएतको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता दीपक गिरी ३६ हजार ९ सय ११ मतका साथ विजयी भएका थिए ।

क्षेत्र नं. २ मा उम्मेदवार भएका आचार्य भने नयाँ उम्मेदवार हुन् । उनी रास्वपाको सहमहामन्त्री हुन् । दाङ निवासी उनी समानुपातिक सूचीबाट नाम फिर्ता लिई प्रत्यक्ष निर्वाचन लड्न थालेका हुन् । आचार्य रास्वपा सभापति रवि लामीछानेका विश्वास-पात्र मानिन्छन् ।

२०७९ को निर्वाचनमा रास्वपाबाट क्षेत्र नं. २ मा विशाल अधिकारी उम्मेदवार भएका थिए । उनले १५ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रबाट कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगाएतको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेखा शर्मा २६ हजार ८ सय ८० मतले विजयी भएकी थिइन् । अधिकारीले अन्तिम समयसम्म उम्मेदवार बन्न प्रयास गरे पनि छनोटमा परेनन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully