उनले जनकपुर प्रदेशको राजधानी भए पनि प्रशासकीय अधिकृत ल्याउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए।
जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशको राजधानी जनकपुरबाट चुनावी यात्रा थालेको छ। ‘परिवर्तन उद्घोष सभा’ नाम दिइएको चुनावी सभालाई सोमबार सम्बोधन गर्दै रास्वपाका शीर्ष नेताहरूले ‘अब की बार, बालेन सरकार’ भन्दै मत मागेका थिए।
जनकपुरको तिरहुतिया गाँछीमा ठूलो संख्यामा उपस्थित समर्थकबीच रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने वाचा गरेको थियो। सभामा सहभागी हुन बालेन आइतबार अपराह्न नै जनकपुर आइपुगेका थिए। रास्वपा सभापति रवि लामिछाने सोमबार जनकपुर पुगेका थिए।
लामो समय कांग्रेसबाट राजनीति गरेका तर २०७९ सालको निर्वाचनमा सर्लाहीबाट स्वतन्त्र भएर चुनाव जितेका नेता अमरेशकुमार सिंह पनि रास्वपामा प्रवेश गरेका छन्। सिंह सोमबार बिहानै बालेनसँगै जानकी मन्दिरमा पूजापाठ गर्न गएका थिए।
सभामा बालेनले मैथिली भाषामा सम्बोधन गरेका थिए। ‘केना कि अई त’ (के–कसो छ नि) भन्दै करिब २० मिनेट लामो भाषण उनले मैथिलीमै सुरु र समाप्त गरेका थिए। ‘भाषण होइन, काम गर्ने मान्छे हुँ। काम गर्छु। काम गर्ने दिने हो नि?’ बालेनले भने, ‘मलाई मानिसहरूले भेट्दैनन् भन्छन्। महानगरमा हुँदा चार वर्ष मेयरमै व्यस्त रहेँ। राजीनामा गरेको छु, फुर्सदमा छु। पहिलो पटक जनकपुर आएर भाषण गर्दैछु।’
बालेनको सम्बोधनका क्रममा शब्द–शब्दमा ‘बालेन–बालेन’ का नारा लगातार लागिरहेका थिए। ‘प्रदेशलाई अझ मजबुत बनाइनेछ। प्रदेशको काम वडामा धारा जोड्ने होइन,’ उनले भने, ‘दुई–तीनवटा पालिकासँग जोडिएका काम गर्नुपर्छ।’
उनले जनकपुर प्रदेशको राजधानी भए पनि प्रशासकीय अधिकृत ल्याउन काठमाडौं जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने बताए। ‘काठमाडौं अधिकार माग्नै जाऊँ, घुम जाऊँ पशुपति र स्वयम्भू,’ बालेनले भने, ‘मधेशिया छोरा प्रधानमन्त्री होइते, त्यसकै लागि हो। सही सरकार बनाउनुछ, त्यसैले मत दिनुहोस्।’
सेतो कुर्ता–पाइजामा र कालो हाफ बन्डी लगाएका बालेनले जनकपुरको सभामा गम्छा बेरेका थिए। सोमबार बिहान जानकी मन्दिरमा पूजा गरेर उनी सिरहाको लहान पुगेका थिए, जहाँ मधेश आन्दोलनका क्रममा सहिद भएका स्मारकमा माल्यार्पण गरेका थिए। त्यहाँबाट जनकपुर फर्किने क्रममा उनी धनुषाको मिथिला नगरपालिका–बनिगामा मावाली गाउँ पुगेका थिए।
चुनावी सभामा रास्वपा सभापति रवि लामिछानेले जेन–जी आन्दोलनमा बालबालिकामाथि गोली चलाउने सरकारले देश र मधेशलाई गरेको अन्यायको हिसाब गरिने बताएका छन्। लामिछानेले आफूलाई षड्यन्त्र गरेर संसद्बाट निकालिएको दाबी पनि गरे। उनले भने, ‘पहिले सबैभन्दा धेरै मत ल्याउने सांसद बनेर संसद् छिरेको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्मा जानेछु।’
उनले बालेनसँग सम्झौता गर्नुअघि भएको कुराकानीको प्रसंग पनि निकाले। उनले बालेन र आफूबीच भेटघाट भएको भोलिपल्ट उज्यालो घाम लागेको अनुभव सुनाए। लामिछानेले उक्त कुराकानीका क्रममा बालेन र आफूले एक–अर्कालाई सपना सुनाएको पनि बताए। उनले भने, ‘हाम्रो वार्ता पाँच मिनेटमा सकिएको थियो। थप समय त एक–अर्कासँग राम्ररी चिनजानमा लागेको थियो।’
लामिछानेले कोही मधेशवादी र कोही हिमालवादी नभएको बताउँदै भने, ‘यहाँ कोही मधेशवादी छैनन्। सबै नेपालवादी हुन्।’
रास्वपाले यसअघि मधेशमा उन्नत बिउ रोपेर गएको भन्दै अब सपना पूरा भएको दाबी गरेको छ। ‘हामीलाई धेरैले भने—मधेशमा त धेरै भोट ल्याउनुभएन, मधेशका जनताले तपाईंलाई माया गर्दैनन्। तर मलाई थाहा थियो मधेशले माया गर्छ,’ लामिछानेले भने, ‘त्यसैले त मधेशमा उन्नत बिउ रोपिएको थियो। त्यो बिउ आज हुर्किएर फल लागेर लहलह भएको छ। आजको उपस्थिति त्यही हिजो रोपेको बिउ हो। यो बिउ मात्र होइन, तपाईंका तमाम आँखामा देखिएका सपना हो। अब त्यो सपना खोसेर मधेशले फिर्ता लिन्छ। मधेशमा ढिलो आए पनि ठीक समयमा आयो।’
सभामा पार्टीका उपसभापति डीपी अर्यालले मधेशलाई चिन्ने र विकास गर्ने नेता नहुँदा मानव विकास सूचकांकमा मधेश पछाडि परेको बताए। उनले मधेशको विकाससँगै देशको उन्नतिका लागि मधेशले प्रधानमन्त्री पाउन लागेको दाबी गरे।
अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा संघीयताविरोधी नरहेको बताए। ‘रास्वपा संघीयताविरोधी नरहेको सन्देश जनकपुरको सभाले पनि दिएको छ,’ उनले भने, ‘तर संघीय ढाँचामा सुधार आवश्यक छ। संघीयताको नाममा भएका बदमासी र विकृतिको अन्त्य गर्नुपर्छ।’
सभाबाटै पार्टी प्रवेश गरेका अमरेशकुमार सिंहले आफूलाई रवि–बालेनको सिपाही भन्दै बालेन प्रधानमन्त्री हुने दाबी गरे।
रास्वपा नेता सोबिता गौतमले पार्टीले मधेशको छोरालाई प्रधानमन्त्री बनाउन लागेको बताइन्। मधेशमा जन्मिएका बालेनलाई रास्वपाले प्रधानमन्त्री बनाउने उनको भनाइ थियो। देशको अवस्था परिवर्तनका लागि मधेश अग्रपंक्तिमा उभिनुपर्ने भन्दै उनले भनिन्, ‘यो देशको भाग्य परिवर्तनका लागि मधेशको अगुवाइ हुनैपर्छ।’
रास्वपा प्रवक्ता मनिष झाले आफू धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने घोषणा गरे।
