पाल्पाबाट राना र श्रेष्ठ कांग्रेस उम्मेदवार 

पाल्पा क्षेत्र नं १ मा टिकट पाएका राना नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् । क्षेत्र नं २ मा टिकट पाएका श्रेष्ठ कांग्रेसका जिल्ला सभापति हुन् ।

माघ ५, २०८२

माधव अर्याल

Rana and Shrestha are Congress candidates from Palpa.

पाल्पा — नेपाली कांग्रेसले पाल्पाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । पाल्पा क्षेत्र नं १ मा सन्दीप राना र क्षेत्र नं २ मा हिमालदत्त श्रेष्ठलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

दुवै निर्वाचन क्षेत्रमा सोमबार अबेर मात्रै उम्मेदवारको टुंगो लागेको कांग्रेस पाल्पाका सचिव सुनिता अधिकारीले बताइन् । पाल्पा क्षेत्र नं १ मा टिकट पाएका राना नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हुन् ।

पाल्पाको पूर्व भेगमा समाजसेवीका रूपमा समेत उनी परिचित छन् । उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक उम्मेदवार थिए भने प्रत्यक्षतर्फ पहिलो पटक संसदीय निर्वाचन लड्न लागेका हुन् । 

पाल्पा क्षेत्र नं २ मा टिकट पाएका श्रेष्ठ कांग्रेसका जिल्ला सभापति हुन् । तानसेन नगरपालिका–२, नारायणस्थान घर भएका श्रेष्ठ नेविसंघको राजनीति गर्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सभापति, नेविसंघको केन्द्रीय सदस्य हुँदै महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै जिल्ला सभापति भएका हुन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully