ओलीको टिप्पणी : चुनावी सुरक्षा अझै चित्तबुझ्दो छैन

झापा–५ मा उम्मेदवारी मनोनयनका लागि पुगेका ओली बालेनबारे मौन ।

माघ ५, २०८२

पर्वत पोर्तेल

Oli's comment: Election security still unsatisfactory

झापा — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका सन्दर्भमा चुनावी सुरक्षा अझै चित्तबुझ्दो नभएको बताएका छन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गर्न सोमबार झापा पुगेका ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।

‘चुनावी सुरक्षा चित्तबुझ्दो छैन,’ ओलीले संक्षिप्त प्रतिक्रिया दिए।

झापा–५ ओलीको परम्परागत निर्वाचन क्षेत्र हो। उम्मेदवारी मनोनयनका लागि झापा पुगेका ओलीको स्वागतका लागि चन्द्रगढी विमानस्थलमा सयौँ मतदाता, नेता–कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति थियो। समर्थकहरूले ‘केपी बा, वी लभ यू’ भन्दै नारा लगाएका थिए भने केही समर्थक चुच्चे नक्सासहित विमानस्थल परिसरमा देखिएका थिए।

यस क्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को सम्भावित उम्मेदवारीबारे सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा भने ओलीले कुनै प्रतिक्रिया जनाएनन्। बालेन झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा रहेको चर्चा भइरहेका बेला ओलीको मौनतालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

एकै दिन एमाले अध्यक्ष ओली र बालेनको झापा आगमनले झापा–५ को चुनावी माहोल थप तातिएको छ। यस क्षेत्रको निर्वाचन यसपटक पुरानो राजनीतिक निरन्तरता र नयाँ राजनीतिक विकल्पबीचको प्रतिस्पर्धाका रूपमा हेरिन थालेको छ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully