दुई ‘हेभिवेट’ को उपस्थितिले चुनावी सरगर्मी बढ्दै ।
What you should know
विराटनगर — प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन नजिकिँदै गर्दा झापा–५ को राजनीतिक तापक्रम थप बढ्ने संकेत देखिएको छ ।
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो झापा आइपुग्दैछन् भने उनका सम्भावित प्रतिस्पर्धीका रूपमा हेरिएका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह पनि आजै झापा पुग्ने कार्यक्रम छ । दुवै प्रतिस्पर्धी नेताले मंगलबार यहाँबाट उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
एमाले अध्यक्ष ओली सोमबार दिउँसो १२ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ । झापा–५ ओलीको परम्परागत निर्वाचन क्षेत्र भएकाले उनको आगमनलाई संगठन सुदृढीकरण र चुनावी रणनीति केन्द्रित भ्रमणका रूपमा हेरिएको छ । ओलीले झापामा पार्टीका नेता–कार्यकर्तासँग छलफल गर्ने तथा आगामी निर्वाचनबारे निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ ।
बालेन्द्र शाह भने अपराह्न मात्रै झापा आइपुग्ने तयारीमा छन् । उनी आज जनकपुरमा आयोजना हुने आमसभामा सहभागी भएपछि आफ्नो गृहजिल्ला महोत्तरी जानेछन् । त्यहाँ केही समय बसेर उनी पूर्वतर्फ लाग्ने कार्यक्रम तय भएको छ । बालेन्द्र शाहका समर्थक तथा अभियन्ता सन्तोष दुलालका अनुसार जनकपुर र महोत्तरीको कार्यक्रम सकेपछि बालेन्द्रले इटहरीमा संक्षिप्त भेटघाट गर्ने छन् । ‘त्यसपछि उहाँ सिधै दमक आउनुहुन्छ,’ दुलालले भने ।
एकै दिन ओली र बालेन्द्रको झापा आगमनले झापा–५ मा चुनावी सरगर्मी थप चुलिने संकेत देखिएको छ । लामो समयदेखि एउटै नेतृत्वको प्रभावमा रहेको यो क्षेत्रमा बालेन्द्रको उम्मेदवारीलाई युवापुस्ताले पुस्तान्तरणको बहससँग जोडेका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार यी दुई ‘हेभिवेट’ हरूको झापा आगमन औपचारिक कार्यक्रममा मात्र सीमित रहने छैन, झापा–५ को आगामी चुनावी समीकरण र राजनीतिक दिशा निर्धारण गर्न महत्त्वपूर्ण संकेत गर्नेछ ।
