एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोल्पामा स्वतन्त्रसहित आठ जना उम्मेदवार निर्वाचनमा होमिने भएका छन् ।
डोल्पा — हिमाली जिल्ला डोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका उनले सोमबार सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार हुने बताएका हुन् ।
'आजको नेपाली राजनीति परिवर्तनको चरणमा छ। जेनजी आन्दोलनपछि जनताले खुलेर भनिसकेका छन्- अब पुरानै दलगत, गुटगत र स्वार्थकेन्द्रित राजनीति होइन, दलभन्दा माथि उठेको, जनउत्तरदायी र इमानदार राजनीति चाहिन्छ। आफ्नो राजनीति सत्ता र पदका लागि नभई सेवाका लागि हो,' उनले फेसबुक वालमा लेखेका छन् ।
एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोल्पामा आठ जना उम्मेदवार निर्वाचनमा होमिएका छन्, जसमध्ये नेकपाबाट धनबहादुर बुढा, एमालेबाट लंकबहादुर रोकाय, काङ्ग्रेसबाट कर्ण बुढा, उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, रास्वपाबाट देवसिंह ऐडी र स्वतन्त्रबाट ओमेन्द्र केसी चुनाव लड्ने भएका हुन् ।
