१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भण्डारीका दुई छोरा राज्यपक्षबाट बेपत्ता पारिएका थिए ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले धादिङ क्षेत्र नम्बर–२ मा ‘जिउँदो सहिद’ का रूपमा चिनिने रामबहादुर भण्डारीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।
पार्टी संयोजक पुष्पकमल दाहालले आइतबार भण्डारीलाई उम्मेदवारको आधिकारिक टिकट हस्तान्तरण गरेका हुन् ।
माओवादी जनयुद्धका क्रममा ठूलो पारिवारिक र व्यक्तिगत क्षति बेहोरेका भण्डारी धादिङमा ‘त्यागी नेता’ का रूपमा परिचित छन् । साबिक नेकपा माओवादी केन्द्रका केन्द्रीयसदस्य समेत रहेका उनी जनयुद्धका घाइते हुन् ।
१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भण्डारीका दुई छोरा राज्यपक्षबाट बेपत्ता पारिएका थिए, जो हालसम्म सार्वजनिक भएका छैनन् । छोराहरूको बलिदान र आफ्नै शरीरमा युद्धका चोटहरू बोकेका कारण उनलाई पार्टीभित्र र स्थानीय स्तरमा 'जिउँदो सहिद' को उपमा दिने गरिएको छ ।
धादिङ–२ मा भण्डारीको आगमनसँगै चुनावी सरगर्मी बढेको छ । स्थानीयस्तरमा लोकप्रिय र सरल स्वभावका मानिने भण्डारीलाई अन्य राजनीतिक दलका उम्मेदवारहरूले पनि बलियो प्रतिस्पर्धीका रूपमा हेरेका छन् ।
