रास्वपा लमजुङबाट धर्मराज केसी नै उम्मेदवार

केसीले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ हजार २९ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिए । उनैलाई रास्वपाले दोस्रोपटक उम्मेदवार बनाएको हो ।

माघ ५, २०८२

आश गुरुङ

Dharmaraj KC is the candidate from RSVP Lamjung.

What you should know

लमजुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङमा अन्ततः धर्मराज केसीलाई नै उम्मेदवार बनाएको छ ।

उनलाई रास्वपाले दोस्रोपटक उम्मेदवार बनाएको हो । केसीले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ९ हजार २९ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिए ।

उक्त चुनावमा ३४ हजार ९ सय ६९ मत ल्याएर नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङ विजयी भएका थिए । निकटम प्रतिद्वन्द्वी तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादी केन्द्रका उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका थिए ।

पार्टीका संस्थापक जिल्ला सभापति तथा केन्द्रीय संगठन विभाग सदस्य रहेका केसीले लमजुङमा चुनाव लड्ने भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको प्रमुख सल्लाहकारको भूमिकाबाट पुस चौथो साता राजिनामा दिएका थिए ।

२०७९ मा केसीले सहजै उम्मेदवारको टिकट पाए पनि यसपटक भन्ने रास्साकसी नै गर्नु पर्‍यो । पुस २२ गतेको रास्वपा बैठकले केसीलाई एकल सिफारिस गरेकामा अनलाइनमार्फत प्रवास विभागका सचिव पदमराज पन्थी र उज्यालो नेपाल पार्टीबाट समाहित भएर आएका निर्देश सिलवालले उम्मेदवारी दिएपछि मूल्यांकन फारम भरेर पुस ३० गतेको बैठकले तीनै जनालाई सिफारिस गरेको थियो ।

लमजुङको सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटी (ढोडसिङ) घर भएका केसीले दक्षिण कोरियाको आजु विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरेका छन् । केसीले ऊर्जा, जलवायु, परिवर्तन तथा दिगो विकास विज्ञका रूपमा नेपालसहित ४० देशमा काम गरेको अनुभव सँगालेको उनको चिनारीमा उल्लेख छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully