देउवाको मतदानस्थल गन्यापधुरा–१ स्थित रुवाखोलाको असीग्राम मावि हो, उनी भोट हाल्न प्रायः हेलिकोप्टर चढेर आउँछन्, सडकबाट कमै मतदानस्थल जाने हुँदा आफ्नो गाउँसम्म पुग्ने सडकको कन्तबिजोग देख्नै पाएका छैनन्।
What you should know
काठमाडौँ — विशेष महाधिवेशनमार्फत चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिक कांग्रेसको मान्यता दिएसँगै शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सन्नाटा छाएको छ । अघिपछि चियाचौतारामा जम्मा भएर देउवा–गगन र समग्र पार्टीबारे चर्चा गर्ने कार्यकर्ता शनिबार ती ठाउँमा खासै देखिएनन् । त्यस्ता ठाउँमा भेटिएकाले पनि पार्टीको पछिल्लो अवस्थाबारे बोल्न चाहेनन् ।
जिल्लाका अधिकांश कार्यकर्ताको मनमनमा एउटै कुरा खेलिरहेको छ– देउवा फेरि पनि रुख चिह्न र चारतारे झन्डा लिएरै चुनावी मैदानमा आउलान् कि छुट्टै पार्टीबाट उत्रलान् ? वा चुनावी प्रतिस्पर्धाबाट विश्राम लेलान् ? गगन थापाको कार्यसमितिले अब पार्टी के होला भनेर चिन्ता गर्नेहरू पनि भेटिए । पार्टीमा भएको पछिल्लो उथलपुथलबारे कान्तिपुरले प्रतिक्रिया बुझ्न खोज्दा कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद बोल्न नै चाहेनन् । ‘यसबारे केही थाहा छैन, आगामी दिनमा थाहा होला । अहिले केही भन्न चाहन्नँ,’ उनले यति भने ।
कांग्रेसका निवर्तमान सभापति देउवा २०४८ सालदेखि निरन्तर निर्वाचित जनप्रतिनिधि हुन् । २०४८ मै गृहमन्त्री भएका उनले पाँच पटक सरकारको नेतृत्व गरे । देउवा २०७२ देखि पार्टी सभापति थिए । २०५९ को पार्टी विभाजनका बेला कांग्रेस प्रजातान्त्रिकमा पनि उनी नै सभापति थिए । विभाजनपछि अर्को चुनाव नआउँदै २०६४ मा पार्टी एकता भएको थियो ।
डडेलधुरावासीले सात पटसम्म जिताएर संसद् पठाएका देउवा पाँच पटकसम्म प्रधानमन्त्री भए, तर जिल्लावासीका लागि रोजगारीको अवसर खोज्दै भारत भासिनुपर्ने बाध्यता कायमै छ । खुला सीमा नाकाबाट अवसर खोज्दै बाहिरिइरहेका युवा दिनहुँजसो भेटिन्छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशगत रूपमा गरिबीको दर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा छ । डडेलधुरामा समग्र गरिबीको दर ३३.२६ प्रतिशत रहेको तथ्यांक छ । अर्थात् यो जिल्लाको कुल जनसंख्या १ लाख ३८ हजार ५ सय ३८ मध्ये ४६ हजार ८३ व्यक्ति अझै पनि गरिबीको रेखामुनि छन । पटकपटक चुनाव जितेर प्रधानमन्त्री बनेका देउवाले यस्ता विषयमा ख्याल नगर्ने गरेको स्थानीयको आरोप छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाका लागि ‘लाइफलाइन’ रहेको भीमदत्त राजमार्ग ठाउँठाउँमा कालोपत्र उप्किएर बेहाल छ । कैलालीको अत्तरियादेखि डडेलधुरा सदरमुकामसम्म १ सय १५ किलोमिटरको सडक यात्रा प्रायः सधैं सकसपूर्ण हुन्छ । ठाउँठाउँमा खाल्डाखुल्डी छन्, हिउँदमा धुलैधुलो हुन्छ, बर्खामा हिलोको समस्या हुन्छ । राजमार्ग मर्मतका लागि चार वर्षअघिदेखि नै ठेक्का लगाइएको थियो तर केही काम भएको छैन ।
उपचारका लागि धनगढी जाँदा सडककै कारण सास्ती झेल्नुपरिरहेको चम्साल गाउँकी ३८ वर्षीया निर्मला पन्त बोहरा बताउँछिन् । ‘जटिल अवस्थाका गर्भवतीलाई सुत्केरी गराउन धनगढी जानुपर्ने बाध्यता छ, तर सडकका कारण धेरै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘अब त चुनावमा युवा आए स्वागत गर्ने हो ।’
डडेलधुरामा तीन सय शय्याको संघीय अस्पताल छ । विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी १९ वटा छ, तर स्थायी दरबन्दीमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् । अस्पतालमा स्थायी दरबन्दीमा एक जना मेडिकल सुपरिन्टेन्डेन्ट मात्रै कार्यरत छन् । गम्भीर बिरामीलाई उपचारका लागि साढे चार घण्टा समय लगाएर धनगढी पुर्याउनुपर्ने बाध्यता रहेको डडेलधुरावासी बताउँछन् ।
स्थायी दरबन्दीमा चिकित्सक नभए पनि छात्रवृत्ति र करारमा गरेर १४ विशेषज्ञ चिकित्सक राखिएको डडेलधुरा अस्पतालका सूचना अधिकारी टंक पन्त बताउँछन् । अस्पतालको एक्स–रे मेसिन बिग्रिएको ५ महिना पुग्यो, अझै बन्न सकेको छैन । एक्स–रे गर्नुपरे अन्य अस्पतालमा बिरामी ‘रेफर’ गरिन्छ । बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम र डोटीबाट समेत गरेर दिनमा ३ सयदेखि ५ सयसम्म बिरामी उपचारका लागि डडेलधुरा अस्पताल पुग्ने गरेका छन् । तीमध्ये ५० जनाजति अन्तै ‘रेफर’ हुन्छ ।
‘जिल्लामा संघीय अस्पताल छ, तर हड्डीको सामान्य उपचार गर्नुपरे धनगढी जानुपर्ने बाध्यता छ,’ घटालका तेजराजले भने । तेजराजले देउवाप्रति पनि रोष पोखे । ‘आफैं मात्र अगाडि जाने, आफ्नै परिवार मात्र हेर्ने, अरू मान्छे नदेख्ने, यस्तो पनि हुन्छ ?’ उनले भने, ‘पार्टीमा त्याग गरेका र नयाँ अनुहार पनि होलान् नि, अरूलाई अवसर दिनु पर्दैन ? अब पुरानो अनुहारको विकल्प खोज्नुपर्छ ।’
देउवाको गाउँ गन्यापधुरा–१ स्थित मटेला जाने सडक निर्माण सुरु भएको २६ वर्ष भयो । विश्व खाद्य कार्यक्रमले ‘ट्र्याक’ खोलेको सडकमा कालोपत्र हुन सकेको छैन । भीमदत्त राजमार्गको भातकाँडादेखि गन्यापधुरातर्फ करिब ४ किलोमिटरमा कतै भत्काइएको छ, कतै ठाउँठाउँमा गिट्टी थुपारिएको छ ।
सवारी साधन चले पनि धुलोले यात्रा सकसपूर्ण हुन्छ । करिब ५ वर्षअघि ९ किमि सडक कालोपत्र गर्ने भन्दै ९ करोड ५७ लाखमा ठेक्का भएको थियो । अनक–मालिका जेभीले ४ किलोमिटर कालोपत्र गर्ने ठेक्का पाए पनि काम पूरा हुन सकेको छैन, जबकि सुरुको सम्झौतामा तीन वर्षभित्र सक्नुपर्ने उल्लेख थियो । असोज २०८१ मा आएको पहिरोले बिगारेको सडकखण्ड मर्मत गरिएको छैन ।
भीमदत्त राजमार्गमा सुन्तला र जुनार बिक्री गर्दै गरेको अवस्थामा भेटिएकी ५० वर्षीया बसन्ती ऐरले गरिबका कुरा सुन्ने नेतालाई भोट दिने योजना रहेको सुनाइन् । ‘अब हामी गरिबका कुरा सुन्नेलाई भोट दिन्छौं,’ उनले भनिन्, ‘बाठा नेताहरू चुनाव जितेपछि आफूआफू लडेरै सकिँदा रहेछन् ।’
आगामी निर्वाचनमा देउवाको विकल्प खोज्दा डडेलधुराले काँचुली फेर्छ भन्नेमा आफू विश्वस्त नरहेको डडेलधुरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक महता बताउँछन् । ‘नयाँ पार्टी, नयाँ झन्डा, नयाँ ब्यानर लगाउँदैमा र पार्टी खोल्दैमा देश परिवर्तन हुन्छ भन्ने अधिकांशको बुझाइ छ,’ उनी भन्छन्, ‘तर मान्छेको नियत परिवर्तन भएको छैन, त्यही अनुहार अर्को पार्टीमा गई टिकट लिएर दोहोरिँदा कसरी नयाँ अनुहार हुन्छ ?’
जिल्लामा ७ पालिका छन्, जसमा अमरगढी र परशुराम नगरपालिका हुन् । गन्यापधुरा, भागेश्वर, आलिताल, अजयमेरु, नवदुर्गा गाउँपालिका छन् । देउवाकै आफ्नै पालिका गन्यापधुरामा सडक कालोपत्र छैन । अजयमेरु गाउँपालिकामा पनि अहिलेसम्म सडक कालोपत्र भएको छैन । त्यसो त देउवाले गरेका चुनावी वाचा के के पूरा भए ? भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौत भन्छन्, ‘२०७४ को चुनावमा भनेअनुसार जिल्लामा मेडिकल कलेज स्थापना भएको छ, पाँच स्थानीय तहमा सडक कालोपत्र भएको छ, जिल्लामा बहुउद्देश्यीय सभाहल निर्माण हुँदै छ । पहाडी जिल्लाका लागि ठूलो बसपार्क निर्माण भइरहेको छ ।’ सिँचाइ, खानेपानी र ग्रामीण सडक निर्माणमा चालु आर्थिक वर्षमा एक अर्बभन्दा बढी बजेट छुट्याइएको उनी बताउँछन् ।
मेडिकल कलेजमा बीएस्सी पब्लिक हेल्थ, बीएस्सी स्टाफ नर्सिङ, बीएस्सी एमएलटीको पढाइ भइरहेको छ । यो वर्षबाट मेडिकल माइक्रो बायोलोजी स्नातकोत्तर पढाइ सुरु गर्न लागिएको सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन हेमनाथ जोशीले बताए । देउवाप्रति स्थानीयका गुनासो रहे पनि विकास निर्माणका काम प्रशस्तै भएको पनि महता दाबी गर्छन् ।
‘२०७४ अगाडि दुई–तीनवटा स्थानीय तहका मुकामसम्म मात्र गाडी पुग्थ्यो । आज टोलटोलमा सडक पुगेको छ,’ उनले भने, ‘लिफ्टिङ तथा साना र मझौला सिँचाइ आयोजना बनेका छन्, इन्टरनेट सुविधा, खानेपानी र विद्युत् छ ।’ सुदूरपश्चिमका ९ जिल्लाबाट देउवापछि देशको नेतृत्व गर्न सक्ने दोस्रो तहका नेता कोही नदेखेको पनि उनको भनाइ थियो ।
हाल डडेलधुरामा ९३ हजार ४ सय ३ मतदाता छन्, जसमा महिला ४६ हजार ४ सय ४६ र पुरुष ४६ हजार ९ सय ५७ जना छन् । चुनावको मिति घोषणा गरेपछि थपिएका नयाँ मतदाता १ हजार ८ सय ९२ जना छन् । देउवाको मतदानस्थल गन्यापधुरा–१ स्थित रुवाखोलामा असिग्राम मावि छ । देउवा भोट हाल्न प्रायः हेलिकोप्टर चढेर आउँछन् । सडकबाट कमै मतदानस्थल जाने हुँदा आफ्नो गाउँसम्म पुग्ने सडकको कन्तबिजोग देख्नै पाएका छैनन् ।
देउवाले २०४८ सालको आम निर्वाचनमा २४ हजार ५ सय ७० मत पाएका थिए । त्यो बेला उनको मुख्य प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर कलौनी थिए । उनले ६ हजार ६ सय २८ मत पाए । त्यस्तै २०५१ सालको मध्यावधिमा २० हजार ७ सय १ मत ल्याएर देउवा विजयी भएका थिए ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट ‘मायालु’ले ९ हजार ९ सय ६६ मत ल्याएका थिए । २०५६ सालको आम निर्वाचनमा देउवाका प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौत थिए । देउवाले २८ हजार ६ सय ५१ मत ल्याएर विजयी हुँदा चटौतले ७ हजार ८ सय ४० मत ल्याए । २०६४ सालको संविधानसभा चुनावमा भने तत्कालीन नेकपा माओवादीका उम्मेदवार बनेका खगराज भट्टले आच्छुआच्छु पारे । देउवा झिनो मतले मात्र विजयी बने । देउवाले २० हजार ५ सय २९ मत ल्याउँदा भट्टले १९ हजार १ सय ६१ मत पाएका थिए ।
२०७० को दोस्रो संविधान चुनावमा देउवाले २३ हजार ९ सय २० मत पाउँदा माओवादीका खगराजले १२ हजार ४ सय ९३ मत मात्र प्राप्त गरे । २०७४ को चुनावमा पनि देउवाका प्रतिस्पर्धी खगराज नै थिए । वाम गठबन्धन गरेर खगराज मैदानमा उत्रिँदा पनि देउवालाई पराजित गर्न सकेनन् । देउवाले २८ हजार ४ सय ४६ मत ल्याउँदा भट्टले २१ हजार ४ सय ९८ मत मात्र प्राप्त गरे ।
२०७९ को चुनावमा आइपुग्दा भने कांग्रेसका तत्कालीन जिल्ला सभापति कर्ण मल्ललाई अनुशासनविपरीत काम गरेको भन्दै पार्टीको केन्द्रीय समितिले कारबाही गरेको थियो । मल्ल बीपी कांग्रेसबाट देउवाको प्रतिस्पर्धी भएर चुनावी मैदानमा उत्रिए । यो चुनावमा देउवालाई जितको निरन्तरता दिन हम्मेहम्मे परेको थियो । एकातिर स्वतन्त्र उम्मेदवार सागर ढकाल र अर्कातिर पार्टीमा विद्रोह गरेका मल्ल मैदानमा थिए । यो कठिन घडीमा पनि देउवाले जित निकालेका थिए । उनले २५ हजार ५ सय ३४ मत ल्याउँदा सागरले १३ हजार ४२ मत ल्याए । मल्ल भने ७ हजार ५ सय ३५ मत ल्याउँदै तेस्रो भए ।
२१ फागुनको प्रतिनिधिसभा चुनावका लागि कांग्रेस विभाजन हुनुअघि देउवा जिल्लाबाट एकल सिफारिस भएका थिए । एमालेबाट चक्र स्नेही र नेकपाबाट मानसिंह मान उम्मेदवार निश्चित भएका थिए । चक्र पूर्वराष्ट्रिय सभा सदस्य भइसकेका व्यक्ति हुन् । यसअघि स्वतन्त्र उम्मेदवार रहेका ढकाल यसपालि रास्वपाबाट चुनाव लड्ने चर्चा भए पनि अन्तिममा उनले उम्मेदवारी नदिने निर्णय गरेका छन् ।
कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि आफू डडेलधुराबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको ढकालले कान्तिपुरलाई बताए । उनले यस विषयमा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भएको जानकारी दिए । देउवाको बहिर्गमनलाई ‘ढलेको रुख’को संज्ञा दिँदै ढकालले देउवा चुनाव उठे पनि आफू डडेलधुराबाट नउठ्ने स्पष्ट पारे । ‘हजुरबुबा पुस्ता सबै ढलिसक्यो । शेरबहादुर देउवा पार्टीबाटै हटिसकेपछि र टिकट गगन थापाले दिने अवस्था आएपछि म किन डडेलधुरा जानु ?,’ उनले भने ।
‘प्रायः पार्टीहरू देउवासँग चुनावी प्रतिस्पर्धाका लागि बलिया उम्मेदवार अघि सार्न डराउँछन्, फेरि कांग्रेसको गढ मानिने डडेलधुरामा देउवासँग चुनाव नजित्ने पक्का नै हुन्छ,’ डडेलधुरा बजारका एक स्थानीयले भने । डडेलधुराका सातमध्ये पाँच पालिकामा कांग्रेसले जितेको छ । आलिताल र अजयमेरु गाउँपालिका अध्यक्ष तत्कालीन माओवादीले जितेको थियो ।
डडेलधुरामा स्वतन्त्र हुँदै रास्वपा प्रवेश गरेका डा. तारा जोशीको राम्रो प्रभाव छ । कांग्रेस र माओवादीको गठबन्धन र एमाले उम्मेदवार नै नउठाएको बेला प्रदेशमा उनी स्वतन्त्रबाट विजयी भएका थिए । लामो समय एमालेको राजनीति गरेका जोशीले देउवाको निर्वाचन क्षेत्रमा ठूलो प्रभाव राख्ने गरेको स्थानीय नरेश भण्डारी बताउँछन् ।
यसअघिको निर्वाचनमा कांग्रेस नेतृ तथा देउवापत्नी आरजु राणाको भाषण विवादमा आएको थियो । देउवाले २०७९ निर्वाचनको मनोनयन दर्ता गर्दा मुख्य निर्वाचन आयुक्तको कार्यालयमा आरजुले डडेलधुराका जनताका लागि सिंहदरबार ‘खुल्जा सिमसिम’ जस्तै हो भनेर विवादित भनाइ राखेकी थिइन् । उनले गन्यापधुराको गणेशपुरमा पुगेर ‘हामीजस्ता हेलिकोप्टर चढेर आउन सक्ने हैसियत भएकालाई जिताउनुपर्छ’ भन्ने भाषण गरेकी थिइन् ।
‘जिल्लामा आरजुले जति भाषण गर्नुभयो, हामी त्यति विवादित मात्रै भयौं,’ डडेलधुरा अजयमेरु–१ का रामसिंह भण्डारीले भने, ‘आफू नजिते बजेट रोक्ने, जिते फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने जस्ता विवादित भाषण गरिन् ।’ स्थानीय तहको निर्वाचनमा अमरगढी नगरपालिकाको बसपार्कमा आयोजित सभामा आरजुले ‘अरूले जिते स्थानीय तहमा बजेट कसले ल्याउँछ ? हामीले जितेका स्थानीय तहमा बजेट आउँछ, हाम्रो मन्त्रीदेखि सचिवमा राम्रो चिनजान छ । करुवा (नेपाली कांग्रेस बीपी) ले जिते उनीहरूलाई कसले बजेट दिन्छ ?’ जस्तो विवादास्पद अभिव्यक्ति पनि दिएकी थिइन् ।
