सहमतिको खाका बनाउन कांग्रेस प्रवक्ता देवराज चालिसे र मधु आचार्य, देउवा पक्षका रमेश लेखक र कोइराला पक्षका मिनेन्द्र रिजाल महाराजगञ्जमा छलफलमा छन्।
What you should know
काठमाडौँ — कांग्रेसभित्रको विवाद सल्टाउन पूर्व सभापति शेरबहादुर देउवा तयार भएका छन्। केही दिनदेखि दोश्रो तहका नेताहरुले गरिरहेको प्रयास सहमति नजिक पुगेको एक नेताले बताए । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग देउवा पक्षका नेताद्वय बालकृष्ण खाण र रमेश लेखक तथा शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजालले विवाद समाधानका लागि पहल गरिरहेका थिए।
संवादका क्रममा निर्वाचनमा सहमतिका साथ अघि बढ्न थापा, देउवा र कोइराला पक्ष समेत तयार भएपछि सहमतिको खाका बनाउन अहिले नेताहरू छलफलमा छन्। सहमतिको खाका बनाउन कांग्रेस प्रवक्ता देवराज चालिसे र मधु आचार्य, देउवा पक्षका रमेश लेखक र कोइराला पक्षका मिनेन्द्र रिजाल महाराजगञ्जमा छलफलमा रहेका छन्।
सबै पक्षबीच सहमति गरेर जाने समझदारी बनेपछि सहमतिको खाका तयार गर्न अहिले वार्ता भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए। 'सबै पक्षको प्रतिनिधित्व गर्ने कार्यदलले सहमतिको खाका बनाउँछ, त्यसपछि सहमति गरेर अघि जान्छौँ,' महामन्त्री घिमिरेले भने।
नेता कोइरालाले हिजो मात्रै आफ्नो समूहका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचनमा एक ढिक्का साथ अघि बढ्न आह्वान गरेका थिए। निर्वाचन आयोगको निर्णयलाई लिएर अदालतमा कानुनी उपचारमा जाने विषय स्वभाविक भएपनि सडक संघर्षमा जान नहुने कोइरालाको अडान रहेपछि देउवा पक्षका नेताहरू प्रतिरक्षात्मक भएका थिए।
नवनिर्वाचित सभापति गगन थापा र उनको टिमले सभापति देउवा निकटका नेताहरूसँग छलफल गर्दै आएका थिए। सहमतिका लागि आइतबार अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध पूर्व कार्यभावह सभापति पूर्णबहादुर खड्काद्वारा दायर गरिएको रिट फिर्ता लिनुपर्ने र टिकट वितरणमा भागबण्डा नगर्ने तर यसअघि जितेका, जित्ने सम्भावना भएका र जनप्रिय नेताहरुलाई टिकट दिने गरी सहमतिको प्रयास गरिएको छ ।
'मोटामोटी सहमति भइसकेको छ। अब भोलि नै मनोनयनको समय रहेकाले आज एक खालको समझदारी गरेर टिकट वितरणमा बस्ने र पार्टी एकताको सन्देश दिँदै निर्वाचनमा होमिन अब तिनै पक्ष तयार भएको अवस्था छ,' देउवा निकटका एक नेताले भने।
पूर्व सभापति देउवा अझै पनि अन्तिमपटक भन्दै निर्वाचन लड्ने आकांक्षा राखेका छन् । उनीनिकट नेताहरूका अनुसार देउवा आफैंले नचाहेमा बाहेक टिकट दिने गरी मोटामोटी समझदारी समेत बनेको छ।
