संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायमा काम गरेको अनुभव सँगालेका जोशीलाई कांग्रेस सभापति गगन थापाले दार्चुलाको उम्मेदवार बनाएका हुन् ।
दार्चुला — कांग्रेस सभापति गगन थापाले धर्मानन्द जोशीलाई दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवार बनाएका छन् । कांग्रेस सभापति थापाले प्रतिनिधिसभाको फागुन २१ मा हुन गइरहेको चुनावमा जोशीलाई टिकट दिएका हुन् ।
सभापति थापाले आफूलाई टिकट दिएको र काठमाडौंबाट आफू निर्वाचन क्षेत्रतर्फ गइरहेको जोशीले बताए ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने घोषणा गरेपछि आइतबार जिल्लाबाट ४ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको थियो ।
जिल्ला कार्य समितिले मंसिर अन्तिम साता नेता बडुको एकल नाम सिफारिस गरेको थियो । बडुले गत पुस २२ गते चुनाव नलड्ने घोषणा गरेका थिए । आइतबार जोशीसहित मालिकार्जुन गाउँपालिकाका पुर्व अध्यक्ष नरेन्द्रसिंह धामी, नेविसंघका पूर्व अध्यक्ष गणेशराज भट्ट र पार्टीका पूर्व जिल्ला सचिव हरकसिह बिष्टको नाम सिफारिस गरेको कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराले बताए ।
संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायमा काम गरेको अनुभव संगालेका जोशीलाई सभापति थापाले दार्चुलाको उम्मेदवार बनाएका हुन् । संयुक्त राष्ट्रसंघको विभिन्न राजनीतिक मिसन, मानवअधिकार, कानुन र द्वन्द्व व्यवस्थापनमा भूमिका खेलेको अनुभव आफूसँग रहेको जोशीले बताए । संयुक्त राष्ट्रसंघबाट राजीनामा दिएर निर्वाचन लड्न आएको उनको भनाइ छ ।
जोशीले निर्वाचन क्षेत्रको विकाससँगै मुलुकमा कानुन निर्माणसँगै सुशासनका क्षेत्रमा भूमिका निर्वाह गर्ने बताए ।
