क्षेत्र नं ३ मा पूर्व केन्द्रीय सदस्य तथा सांसद दीपक गिरी, जिल्ला सभापति शंकरप्रसाद डाँगी र केशव आचार्य उम्मेदवारको दौडमा छन् ।
दाङ — प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले दाङको क्षेत्र नं १ र २ मा उम्मेद्वार टुंग्याएको छ । क्षेत्र नं ३ मा भने टुंगो लाग्न बाँकी छ ।
क्षेत्र नं १ मा विशेष महाधिवेशनबाट सह-महामन्त्री बनेका योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ भने २ मा किरणकिशोर घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरे पहिलोपटक निर्वाचनमा होमिदैछन् ।
चौधरी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट संविधानसभा सदस्य भएका थिए । कांग्रेस प्रवेशपछि शेरबहादुर देउवानिकट रहेका चौधरी पछिल्लो समय गगन थापा नेतृत्वको विशेष महाधिवेशनमा सहभागी भई सह-महामन्त्री बनेका हुन् ।
क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीले मेटमणी चौधरीलाई उम्मेदवार बनाएको छ भने एमालेले अझै उम्मेदवार टुंगो लगाएको छैन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक उम्मेदवार बनेका छन् ।
क्षेत्र नं २ मा नेकपा (एमाले) बाट महासचिव शंकर पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीबाट निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विपिनकुमार आचार्य उम्मेदवार बनेका छन् ।
क्षेत्र नं ३ मा भने कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन । पूर्व केन्द्रीय सदस्य तथा सांसद दीपक गिरी, जिल्ला सभापति शंकरप्रसाद डाँगी र केशव आचार्य उम्मेदवारको दौडमा छन् । यस क्षेत्रमा एमालेले घनश्याम पाण्डे, नेपाली कम्युनिष्ट पार्टीले धनबहादुर मास्की र राष्ट्रिय स्वतन्त्र पार्टीले कमल सुवेदीलाई उम्मेदवार बनाएको छ ।
