दल परिवर्तन गरेर धमाधम उम्मेदवार

कपिलवस्तु–२ मा कांग्रेसबाट टिकट अपेक्षा गरेका पूर्वप्रहरी उपरीक्षक विक्रमसिंह थापा रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । रास्वपाले उनलाई कपिलवस्तु–२ बाट उम्मेदवार बनाएको छ ।

माघ ५, २०८२

मनोज पौडेल

Candidates are running by changing parties

कपिलवस्तु — पश्चिम तराईका जिल्लामा दल बदलेर उम्मेदवार बन्ने क्रम बढेको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा यसअघि आफू आबद्ध दल परित्याग गरेर उम्मेदवार बन्ने बढेका हुन् ।

रुपन्देही–४ (१) बाट प्रदेशसभा सदस्य कन्हैया बानियाँले सोमबार राजिनामा दिएका छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित पदबाट राजीनामा दिएर रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् । उनलाई रास्वपाले रुपन्देही–४ बाट उम्मेदवार बनाउने तय भएको छ । 

पश्चिम नवलपरासीका कांग्रेस नेता विक्रम खनाल पनि रास्वपा प्रवेश गरेका छन् । उनी पश्चिम नवलपरासी–१ मा रास्वपाबाट उम्मेदवार बनेका छन् । यहाँका जिल्लामा दल परिवर्तन गर्दै टिकट लिने बढेका हुन् । साबिकको दलबाट टिकट नपाउने भएपछि जिल्लामा कहलिएका नेताहरू नै दल परिवर्तनमा अग्रसर देखिएका छन् । 

कपिलवस्तु–२ मा कांग्रेसबाट टिकट अपेक्षा गरेका पूर्वप्रहरी उपरीक्षक विक्रमसिंह थापा रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । रास्वपाले उनलाई कपिलवस्तु–२ बाट उम्मेदवार बनाएको छ । २०७९ सालमा कपिलवस्तु–२ (१) बाट प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थापा ५ सय २२ मतान्तरले पराजित भएका थिए । 

राप्रपा नेता प्रकाश रजौरिया पनि रास्वपाबाट कपिलवस्तु–३ मा उम्मेदवार बन्ने भएका छन् । रजौरियालाई उम्मेदवार बनाएको रास्वपा जिल्ला अध्यक्ष शिव सुवेदीले बताए । कांग्रेसका पुराना नेता वीरेन्द्रकुमार कानोडिया गत शनिबार एमाले प्रवेश गरिसकेका छन् । एमालेबाट चुनाव लड्ने भएका छन् । शेरबहादुर देउवा सभापति हुँदासम्म उनले कपिलवस्तु–३ बाट उम्मेदवारी पाउने आशामाा थिए । पार्टी सभापति परिवर्तन भएपछि उनले पनि दल फेरेका हुन् ।

मनोज पौडेल

Link copied successfully