डोल्पामा दाजुभाइ उम्मेदवार बन्दै

काइके गाउँपालिका निवासी एकै घरका दुई भाइ धनबहादुर बुढा र कर्ण बुढा चुनावी मैदानमा होमिएका हुन् । धनबहादुर नेकपाबाट र कर्ण कांग्रेसबाट चुनावी मैदानमा उत्रिँदैछन् ।

माघ ५, २०८२

रामचन्द्र न्यौपाने

Brothers running for office in Dolpa

डोल्पा — हिमाली जिल्ला डोल्पामा एकै घरका दुई दाजुभाइ आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

काइके गाउँपालिका निवासी एकै घरका दुई भाइ धनबहादुर बुढा र कर्ण बुढा चुनावी मैदानमा होमिएका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिस्ट पार्टीबाट धनबहादुर बुढाले टिकट पाएका छन् भने कर्ण बुढाले नेपाली कांग्रेसबाट टिकट पाएका हुन् । भाइ धनबहादुुर डोल्पाबाट लगातार तीनपटक प्रतिनिधि सभा सदस्य र दुईपटक मन्त्री भइसकेका छन् । उनी २०७०, २०७४ र २०७९ को निर्वाचनमा भारी मतले विजयी भएका थिए । यसअघि राप्रपा, नेकपा एमाले, एकीकृत समाजवादी हुँदै हाल उनी नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध भएका हुन् ।

डोल्पामा स्थानीय तहदेखि प्रदेश र संघको चुनावमा उम्मेदवार जिताउन र जित्न आफूसँग जादुको छडी छ भनेर उनले बताउँदै आएका छन् ।

एक घरका दुई भाइले फरक–फरक पार्टीबाट टिकट पाएपछि जिल्लामा चुनावी प्रतिस्पर्धालाई रोचक रूपमा हेरिएको छ ।

कर्ण बुढा कांग्रेसका सह–महामन्त्रीसमेत हुन् । उनी शेरबहादुर देउवा सभापति हुँदा केन्द्रीय सदस्य थिए । कांग्रेसमा आउनुअघि राप्रपामा आबद्ध थिए ।

यसगरी डोल्पामा नेकपा एमालेबाट लंकबहादुर रोकाय, उज्यालो नेपाल पार्टीबाट दिलबहादुर विष्ट, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, रास्वपाबाट देवसिंह ऐडी र स्वतन्त्रबाट ओमेन्द्र केसीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully