कांग्रेसबाट गुल्मी-१ मा भण्डारी  र २ मा श्रेष्ठ उम्मेदवार

गुल्मी-१ मा कांग्रेसका नेता डा. चन्द्र भण्डारी उम्मेदवार बन्ने भएका छन् भने क्षेत्र नं २ मा भुवनप्रसाद श्रेष्ठले टिकट पाएका छन् ।

माघ ५, २०८२

सन्तोष महतारा

Bhandari and Shrestha are the candidates from Gulmi-1 and 2 respectively from Congress.

गुल्मी — गुल्मीका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । गुल्मी-१ र २ दुवै प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार टुंगो लागेर आइसकेको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए ।

उनका अनुसार गुल्मी-१ मा कांग्रेसका नेता डा. चन्द्र भण्डारी उम्मेदवार बन्नेछन् । उनी कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् । यस क्षेत्रमा यसअघिको निर्वाचनमा जित हासिल गरेका भण्डारी यसपटक पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

गुल्मी-२ मा कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेशका कांग्रेस उपसभापतिसमेत रहेका श्रेष्ठ कांग्रेस गुल्मीका पूर्वसभापति हुन् । उनी यसअघि गुल्मी-२ (१) मा प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

गुल्मी-१ मा १ लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । गुल्मी-२ मा १ लाख ७ हजार ३ सय ६३ जना मतदाता रहेका छन् । यसअघि गुल्मी-१ बाट कांग्रेसका भण्डारी र गुल्मी-२ बाट एमालेका गोकर्ण विष्ट विजयी भएका थिए ।

सन्तोष महतारा

Link copied successfully