नगर प्रमुख छाडेर प्रतिनिधिसभामा उठ्दै ।
काभ्रे — फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रे २ मा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ । एमाले केन्द्रीय सदस्य एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जु (श्रेष्ठ)लाई क्षेत्र नं २ को उम्मेदवार बनाएको हो ।
नेपाल नगरपालिका संघका पूर्वअध्यक्षसमेत रहेका ब्याञ्जु एमाले केन्द्रीय कमिटी सदस्य गोकुल बाँस्कोटालाई पन्छाउँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न सफल भएका हुन् । बाँस्कोटा यो क्षेत्रमा लगातार दुईपटक २०७४ र २०७९ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
२०७४ साल र २०७९ सालको स्थानीय तह निर्वाचनमा धुलिखेल नगरपालिकाको प्रमुखमा निर्वाचित ब्याञ्जु एमालेको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए । उनी २०५४ सालको स्थानीय तह निर्वाचनमा धुलिखेल नगरपालिकाको उपप्रमुख निर्वाचित भएका थिए ।
उनी उम्मेदवार बन्ने निश्चित भए पनि नगर प्रमुख पदबाट राजिनामा भने दिइसकेका छैनन् ।
अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढेसँगै बाँस्कोटा टिकटबाट बञ्चित भएको र हाल ओलीनिकट रहेका ब्याञ्जुले टिकट पाएको चर्चा चलिरहेको छ । ब्याञ्जु यसअघि नेकपा एमालेको प्रदेश कमिटी सदस्य थिए भने त्योभन्दा अघि जिल्ला कमिटी अध्यक्ष थिए । उनले जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव, उपाध्यक्षका रूपमा पनि काम गरिसकेका छन् । २०४३ सालबाट राजनीति सुरु गरेका ब्याञ्जु पूर्व पत्रकारसमेत हुन् । उनी स्थानीय तहको विज्ञका रूपमा पनि चिनिन्छन् ।
२०७९ सालमा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ४५ हजार ३ सय ४५ मत पाएर एमाले उम्मेदवार गोकुल बाँस्कोटा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शिवप्रसाद हुमागार्इंले ३९ हजार ४ सय ८२ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागार्इंले १० हजार ५ सय ७३ मत ल्याएका थिए ।
