एमालेको उम्मेदवार बन्न नपाएकोमा आहत भएको तर विचलित नभएको झपट रावलको भनाइ छ ।
What you should know
काठमाडौँ — एमालेले कैलाली निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार नबनाएपछि केन्द्रीय सदस्य झपट रावल असन्तुष्ट बनेका छन् । पार्टीको निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट सिफारिस हुँदा पनि केन्द्रीय नेतृत्वले टिकट नदिएको भन्दै रावल असन्तुष्ट बनेका हुन् ।
रावलले टिकट नपाएकोमा आइतबार सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली-२ मा सूर्यबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेका थिए । यो निर्णय आफूलाई रोकेर गरिएको रावलको भनाइ छ ।
'कैलाली निर्वाचन क्षेत्र नम्बर २ समन्वय समितिले ध्वनि मतका साथ मसहित तीन जनाको नाम सिफारिस गरेको थियो । यसअघि यही क्षेत्रबाट निर्वाचित भई संसद्मा रहँदा मैले जनताको शिर निहुरिने कुनै पनि काम नगरी, विकास र सुशासनका पक्षमा दृढतापूर्वक आफ्नो भूमिका निर्वाह गरेँ,' रावलको असन्तुष्टि छ, 'जनताका दुःख सुखमा सधैं साथ रहँदै विकास निर्माणका काममा अहोरात्र खटिएकै कारण मतदाताको मन जित्न सफल भएको हुँ भन्नेमा म विश्वस्त छु । त्यसैले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मेरो दाबी स्वाभाविक मात्र होइन, जन आधारित र न्यायोचित पनि थियो । तर यसपटक एउटा योजनाबद्ध मनोवैज्ञानिक वातावरण निर्माण गरी मलाई रोक्ने सामूहिक प्रयत्न भएको छ, जसले क्षणिक रूपमा सफलता पाएको छ ।'
राजनीतिमा योजनाबद्ध रुपमा प्रतिस्पर्धीलाई रोक्ने काम भएको रावलको भनाइ छ । 'यसले मलाई आहत बनाएको भए पनि विचलित बनाएको छैन,' रावलको भनाइ छ ।
रावलले टिकट नपाए पनि पार्टी निर्णय मानेर जाने लेखेका छन् । 'पार्टी निर्णय सर्वोपरी हुन्छ भन्ने मान्यतामा म अडिग छु । पार्टी नेतृत्वको निर्णयमा पर्न सफल सम्पूर्ण कमरेडहरू तथा उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,' उनको भनाइ छ ।
रावल केही पहिले भएको एमाले महाधिवेनशमा ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् । उनी खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
