कांग्रेसको बेवसाइटमा अपडेट भएन नयाँ कार्यसमिति

गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले वैधता पाए पनि पार्टीको वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको पुरानै कार्यसमितिको विवरण हटाइएको छैन ।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

New working committee not updated on Congress website

काठमाडौँ — कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले वैधता पाइसके पनि पार्टीको वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको पुरानो कार्यसमितिको विवरण हटाइएको छैन ।

पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा चलेको विशेष महाधिवेशनले गगन थापा नेतृत्वमा १ सय ३४ नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । 

नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई गत शुक्रबार निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ । तर, पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टी मुख्यालय सानेपा छाडेको छैन ।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले पार्टी कार्यालय मर्मतसम्भार भइरहेकाले त्यहाँ गएर बैठक बस्न नसकिएको बताए ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक भने शनिबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा बसेको थियो ।

आयोगको निर्णयविरुद्ध देउवा पक्ष भने सर्वोच्च अदालत गएको छ । आज रिट दर्ता गर्दै सर्वोच्चले पहिलो सुनुवाइका लागि माघ ६ गतेका लागि पेसी तोकेको छ ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन् । 

कान्तिपुर

Link copied successfully