देउवा पक्षको रिट दर्ता, पेसी माघ ६ गते

नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने जोखिम देखाउँदै देउवा पक्षले आजै सर्वोच्चमा रिट दर्ता गरे पनि आजै पेसी तोक्न सम्भव भएन।

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Deuba's side files writ petition, to be heard on Magh 20

काठमाडौँ — नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पेस गरेको रिट दर्ता भएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता गर्दै पहिलो सुनुवाइ माघ ६ गतेका लागि पेसी तोकेको छ।

सोही दिन २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता पनि हुँदै छ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। देउवा पक्षले रिटको पेसी आजै तोकेर सुनुवाइ गरिदिन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले आजै मुद्दा दर्ता गरेर पेसी तोक्न सम्भव नभएको जानकारी दिएपछि उनीहरू दर्ता गरेर फर्केका हुन्।

निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुने र चुनावमा भाग लिनबाटै वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायतका नेताले आजै रिट दर्ता गरेर आजै पेसी चढाउन आग्रह गरेका थिए। तर सर्वोच्च प्रशासनले नियमावलीको व्यवस्था कारण आज सम्भव नहुने जवाफ दिएको थियो।

अब उम्मेदवार मनोनयनपछि मात्र सर्वोच्चले आदेश सुनाउने देखिन्छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा मात्र देउवा पक्षका लागि राहत हुने छ भने जारी नगरेमा विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा पक्षलाई राहत हुने छ।

कान्तिपुर

Link copied successfully