अर्घाखाँचीमा नेकपाले दियो चौहानलाई टिकट

अंग्रेजी विषयमा स्नातक उत्तीर्ण ५२ वर्षीय चौहान विद्यार्थीकालदेखि जिल्लामै बसेर राजनीति तथा सामाजिक काममा सक्रिय रहँदै आएका र जिल्लामा प्रभावशाली नेता मानिन्छन् ।

माघ ४, २०८२

वीरेन्द्र केसी

NCP gives ticket to Chauhan in Arghakhanchi

अर्घाखाँची — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य रामबहादुर चौहान उम्मेदवार बनेका छन् ।

मालारानी गाउँपालिका–५ बाँगीका चौहान संसदीय चुनाव पहिलो पटक लड्दैछन् । एमाले निकट अनेरास्ववियुको सदस्य बनेर राजनीतिक यात्रा सुरु गरेका उनी २०४९ सालमा पाणिनि बहुमुखी क्याम्पस स्ववियु सभापति, ०५० मा अखिल जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बनेका थिए । ०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुँदै ०५६ मा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा इन्चार्ज बनेका थिए ।   

०६९ को सातौं एमाले जिल्ला अधिवेशनमा जिल्ला कमिटी सचिव जितेका चौहान ०७७ मा विद्रोह गरी समानान्तर कमिटीको अध्यक्ष हुँदै नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्ष भए । नेकपा एस र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा केन्द्रीय सदस्यको भूमिकामा रहेका उनले समाजिक क्षेत्रमा पनि भूमिका निर्वाह गरेका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष र सामुदायिक प्रहरी सेवा केन्द्रको लामो समय अध्यक्ष भएर काम गरेका छन् । 

अंग्रेजी विषयमा स्नातक उत्तीर्ण ५२ वर्षीय चौहान विद्यार्थीकालदेखि जिल्लामै बसेर राजनीति तथा सामाजिक काममा सक्रिय रहँदै आएका र जिल्लामा प्रभावशाली नेता मानिन्छन् । नेकपाको जिल्ला कमिटीले उनका साथै पूर्वराष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित आठ जनाको नाम सिफारिस गरेको थियो ।  खड्काले चौहानलाई समर्थन गरेपछि अरु उम्मेदवार पनि पछि हटेका थिए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully