राष्ट्रिय सभाको १९औं अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
काठमाडौँ — कांग्रेस सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु भएको हो ।
अधिवेशनको पहिलो बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसपछि उनले हालै निधन भएका सांसद बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।
राष्ट्रिय सभा सदस्य बोहराको गत पुस ३० मा ७४ वर्षको उमेरमा निधन भएको थियो । उनी दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य बनेका थिए भने २०८० मा भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्य बने ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा बैठक सञ्चालन भएको थियो ।
