माधव नेपाल र अजय गुप्ता फेरि आमने–सामने

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि भने उनको राजनीतिक छविमा दाग लागेको थियो ।

माघ ४, २०८२

शिव पुरी

Madhav Nepal and Ajay Gupta face off again

रौतहट — आगामी फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट–१ बाट पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य अजय गुप्ताबीच फेरि आमने सामने हुने भएको छ ।

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ हजार ६ सय मतले नेपालले गुप्तालाई पराजित गरेका थिए । त्यसबेला नेता नेपाल समाजवादी पार्टीका अध्यक्ष थिए । समाजवादी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा विलय भएपछि रौतहट १ बाट उनको नाम एकल सिफारिस भएको थियो । यो क्षेत्र उनको गृहनगर पनि हो । 

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेपछि भने उनको राजनीतिक छविमा दाग लागेको थियो ।

गृहजिल्ला रौतहट–१ बाट यसअघि २०५६ को आमचुनाव र २०७० सालको दोस्रो संविधानसभा चुनावमा नेपाल निर्वाचित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित भए । २०७९ को निर्वाचनमा फेरि रौतहट–१ बाटै विजयी भए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully