रुख चुनाव चिह्नबाहेक कल्पना गर्न सक्दिनँ : खड्का

'नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ता बजारमा आएका हल्ला हुन् ।'

माघ ४, २०८२

कान्तिपुर संवाददाता

I can't imagine anything other than a tree as an election symbol: Khadka

काठमाडौँ — कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न नसकिने बताएका छन् । विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगन थापा निर्वाचित बनेपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गर्दै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुगेका खड्काले रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न नसकिने बताएका हुन् । 

सामाजिक सञ्जालमा आइतबार साँझ खड्काले लेखेका छन्, 'रुख चुनाव चिह्नबाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिनँ । नयाँ पार्टी खोल्छन्, स्वतन्त्र उम्मेदवारको रूपमा उठ्छन् जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू, शुभेच्छुकहरू र हाम्रा आम आदरणीय मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछु ।'

निर्वाचन आयोगले कांग्रेसको सभापति गगन थापा रहेको विवरण अद्यावधिक गरेको थियो । त्यसकाविरुद्धमा खड्काको नेतृत्वमा कांग्रेस सर्वोच्च अदालत पुगेको छ । यस विषयमा उनले लेखेका छन्, 'निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि २०८२ माघ ३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको  सर्वसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हौं ।'

सर्वोच्च अदालतले गर्ने निर्णय आफूहरूलाई स्वीकार्य रहेको पनि खड्काले लेखेका छन् । कांग्रेसमा सभापति थापा निर्वाचित भएपछि देउवा पक्षका नेताहरू असन्तुष्ट छन् । देउवा पक्षका केही नेताहरू भने अब मुद्दा मामिलामा नलागी थापाको नेतृत्वमा निर्वाचनमा जानुपर्ने भन्दै खुल्न थालेका छन् ।

कान्तिपुर

Link copied successfully