ज्ञवाली र विष्ट नै गुल्मी-१ र २ बाट एमालेबाट चुनावी मैदानमा 

केन्द्रीय राजनीतिमा हेभिवेट नेताका रुपमा परिचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् ।

माघ ४, २०८२

सन्तोष महतारा

Gyawali and Bista are in the election fray from Gulmi-1 and 2 on behalf of UML.

What you should know

गुल्मी — गुल्मीमा नेकपा एमालेले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्‍याएको छ । केन्द्रीय राजनीतिमा हेभिवेट नेताका रुपमा परिचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका छन् ।

निवर्तमान उपमहासचिव हाल केन्द्रीय सदस्य ज्ञवाली एमालेका प्रभावशाली नेता हुन् । उनी गुल्मी-१ बाट गत निर्वाचनमा कांग्रेस नेता डा. चन्द्र भण्डारीसँग पराजित भएका थिए । ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्दा भण्डारीले ३३ हजार ७४४ मत लिएर चुनाव जितेका थिए । यसपटक यस क्षेत्रमा एक लाख २२ हजार १ सय ८६ जना मतदाता रहेका छन् । ज्ञवालीसँग भिड्ने अन्य प्रतिस्पर्धीको भने अझै टुङ्गो छैन ।

उपाध्यक्ष गोकर्ण विष्ट पनि नेकपा एमालेका प्रभावशाली नेता हुन् । गुल्मी-२ बाट गत निर्वाचनमा विष्ट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई हराउँदै विजयी भएका थिए । तत्कालीन समयमा कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी झाँक्री यसपटक भने एमालेमै फर्किएकी छिन् ।

विष्टले २८ हजार ४८५ मत लिएर विजयी हुँदा झाँक्रीले २६ हजार ४४१ मत ल्याएकी थिइन् । यसपटक यस निर्वाचन क्षेत्रमा एक लाख सात हजार ३ सय ६३ जना मतदाता रहेका छन् । विष्टसँग भिड्ने अन्य प्रतिस्पर्धीको भने अझै टुंगो छैन ।

क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारी दर्जनबढी नेतासहित सिफारिस हुँदा उनको आइतबार साँझसम्म टुङ्गो लाग्नेछ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल केसीसहित दुई जना सिफारिस मध्ये एक चुनावी मैदानमा उत्रनेछन् । केसी चन्द्रकोट गाउँपालिका-२ मा स्वतन्त्र उठेर वडाध्यक्ष जितेका थिए । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुदर्शन बराल चुनावी मैदानमा छन् ।

क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ दर्जनभन्दा बढी नेतासहित सिफारिस छन् । तर अझै उम्मेदवार टुङ्गो भने छैन । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिस्ट पार्टीबाट पनि अझै टुङ्गो छैन ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिंह काउछाले दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लागेको बताए । उनले चुनावी मैदानमा आइसकेपछि अब उम्मेदवार पार्टीका साझा उम्मेदवार हुने भएकोले सबैलाई एक ढिक्का हुन आग्रह गरेका छन् ।

सन्तोष महतारा

Link copied successfully