काठमाडौं-५मा कमल थापाले टिकट पाएपछि राप्रपामा असन्तुष्टि

सिफारिस नै नभएका थापा जेन-जी आन्दोलनको भावनाअनुरूप युवाहरूलाई पाखा लगाउँदै उम्मेदवार बन्न लागेको भन्दै असन्तुष्टि चुलिएको हो । 

माघ ४, २०८२

कान्तिपुर संवाददाता

Dissatisfaction in RPP after Kamal Thapa gets ticket in Kathmandu-5

What you should know

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं-५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै कार्यकर्ता विरोधमा उत्रेका छन् । यसअघि मकवानपुरबाट निर्वाचन लड्दै आएका थापालाई यस पटक राप्रपाले काठमाडौंबाट उठाउने गरी टिकट दिएको थियो । 

अध्यक्ष राजेन्द्र लिङ्देनले भर्खर पार्टी एकता गरेर भित्र्याएका थापालाई क्षेत्रीय कमिटीको सिफारिसबिना टिकट दिएको भन्दै कार्यकर्ताहरुले बागी उठ्नेसम्मका चेतावनी दिएका छन् । अहिले सिफारिस नै नभएका थापा जेन-जी आन्दोलनको भावनाअनुरूप युवाहरूलाई पाखा लगाउँदै उम्मेदवार बन्न लागेको भन्दै असन्तुष्टि चुलिएको हो । 

आकांक्षीमध्येका एक हिक्मतजंग कार्कीले पार्टीको निर्णयले निराश बनाएको बताए । उनले युवाहरूको चाहनाअनुसार पार्टी अघि बढ्नुपर्नेमा त्यसो हुन नसक्नु दुःखको विषय भएको उल्लेख गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे छलफलमै रहेको बताए । उनले पार्टीमा बागी उम्मेदवारी दिनेदेखि पार्टीमा कमल थापाको उम्मेदवारीविरुद्ध विद्रोह गर्नेसम्मको चेतावनी दिएका छन् । 

क्षेत्रीय कमिटीले उक्त क्षेत्रमा क्षेत्रीय अध्यक्ष नविन खड्का, केन्द्रीय उपाध्यक्ष हेमजङ्ग गुरुङ, डा प्रकाशचन्द्र लोहनी, हिक्मतजंग कार्की, केशव रेग्मीको नाम सिफारिस गरेको थियो । थापा प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन ०४८ मा पराजित भएका थिए । ०५१ को मध्यावधि चुनावमा भने उनी विजयी भएका थिए । थापा ०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्वकाल र ०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन् ।

यस्तै ०५६ मा थापा मकवानपुर–१ मा पराजित भएका थिए भने ०६४ को संविधानसभा निर्वाचनमा पनि मकवानपुर–३ बाट पराजित भएका थिए । ०७० को संविधानसभा निर्वाचनमा भने उनी समानुपातिक उम्मेदवार बनेका थिए ।

यस्तै ०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर–१ मै फेरि उम्मेदवारी दिए पनि पराजित भए भने २०७९ को निर्वाचनमा पनि मकवानपुरबाटै पराजित नै भएका थिए ।

कान्तिपुर

Link copied successfully