अदालत जाने तयारीमा देउवा पक्ष, तर पुरानो संस्थापनका नेताहरू नयाँ नेतृत्व र रुखको पक्षमा खुल्दै

बानेश्वरमा सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वसभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा बस्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

माघ ४, २०८२

कुलचन्द्र न्यौपाने, विवेक पोख्रेल

Deuba's side prepares to go to court, but leaders of the old establishment are opening up in favor of new leadership and a new path.

What you should know

काठमाडौँ — विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र मूल कांग्रेसमै फर्कने वा निर्वाचनमा भाग नलिएर निष्क्रिय बस्ने भन्नेबारे दुई थरी धारणा प्रकट भएका छन् ।

यता बानेश्वरमा पार्टी सभापति गगन थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पूर्वसभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिकामा बस्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

‘लामो समयसम्म नेपाली कांग्रेसलाई नेतृत्व प्रदान गर्नुभएका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवाको योगदानको उच्च कदर गर्दै यो बैठक उहाँप्रति सम्मान प्रकट गर्दछ,’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘आगामी दिनमा उहाँलगायत अग्रजहरूको अभिभावकत्व र पूर्ण साथ रहनेछ भन्ने विश्वास प्रकट गर्दछ ।’

देउवानिकट पूर्वपदाधिकारीहरू र केही वरिष्ठ केन्द्रीय सदस्यले चुनाव नलड्ने र कांग्रेस सभापति गगन थापा नेतृत्वको कार्यसमितिमा पनि नबस्ने मनस्थिति बनाएका छन् । तर, तेस्रो तहका नेताहरू भने रुख र झन्डा भएकै ठाउँमा फर्कन खोजिरहेका छन् ।

देउवा पक्षका पूर्वपदाधिकारी तथा सदस्यहरूको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँमा जाने निर्णय लिएको छ । आइतबार रिट दायर गर्ने तयारी रहेकाले अदालतको कस्तो आदेश आउँछ, त्यसपछि मात्र निर्णय लिने नेताहरूको योजना छ भने भ्रातृसंस्थाहरूले पनि अदालतको आदेशअनुसारै अघि बढ्ने मनस्थिति बनाएका छन । आइतबार अदालतमा रिट दायर गर्न पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई जिम्मा दिइएको छ । यस्तै पूर्वपदाधिकारी पूर्णबहादुर खड्कालाई प्रक्रिया अघि बढाउन अख्तियारी दिइएको छ । 

निर्वाचन आयोगबाट मान्यता पाएपछि बानेश्वरमा बसेको कांग्रेस पहिलो बैठकले टोलदेखि केन्द्रसम्मका सबै तहका कार्यसमितिलाई निर्वाचनमा एकजुट भएर लाग्न निर्देशन दिएको छ । प्रवक्ता देवराज चालिसेले कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने अभियानमा सिंगो केन्द्रीय कार्यसमिति अग्रसर भएको बताए ।

आ–आफ्नो सम्पर्कका आधारमा केन्द्रीय पदाधिकारी तथा सदस्यले पुरानो संस्थापन र नेता शेखर कोइराला तथा उनीपक्षीय नेताहरूसँग छलफल अघि बढाइरहेका छन् । भ्रातृसंस्थाका नेतृत्व अधिकांश देउवा पक्षमा छन् । उनीहरूसँग पनि कुराकानी भइरहेको एक पदाधिकारीले बताए ।

‘विशेष महाधिवेशनको पक्षमा नहुनु भएका २०/३० जना केन्द्रीय सदस्य रुख र चारतारे झन्डा छोडिन्न भनेर सम्पर्कमा आइसक्नुभएको छ, अरू नेताहरूलाई पनि ल्याउने प्रयास जारी छ,’ उनले भने, ‘पूर्वपदाधिकारी र शेरबहादुर दाइपछिका दोस्रो तहका नेताहरूलाई अलि असहज भइरहेको छ । तर, त्यस तलका पुस्ताका नेताहरू सहजै एडजस्ट हुन सक्ने अवस्था छ ।’

केन्द्रीय सदस्यहरू सुजाता कोइराला, रामहरि खतिवडा, चन्द्र भण्डारी, सुनील शर्मा, दिनेश कोइरालालगायत केही नेताहरूले संवैधानिक आयोगको निर्णय स्विकारेर अघि बढ्न आह्वान गरेका छन् । खतिवडाले रुख र चारतारे झन्डा जहाँ, त्यहीं कांग्रेस हुन्छ भन्दै त्यसलाई मानेर जानुको विकल्प नभएको बताएका छन् । 

‘अब चारतारे झन्डा र रुख चिह्न छाडेर जाने कुरा धेरै साथीहरूले गर्नुभएको छैन, चुनावका बेलामा हामी सबैले एक भएको सन्देश दिन सक्नुपर्छ,’ खतिवडाले भने, ‘परिवर्तनलाई स्विकार्नुपर्छ, नवनिर्वाचित सभापतिसहित पदाधिकारीले पुरानो र नयाँ पुस्तालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ ।’

उनले टिकट वितरणमा यसअघि जस्तो भागबन्डा हुन नहुनेसमेत बताए । ‘हिजोको साठी/चालीस जस्तो अब अन्त्य गरिनुपर्छ, इमानदार जित्न सक्नेलाई टिकट दिनुपर्छ । हाम्रो र नाता, दाता, धनप्रिय खोज्ने होइन । कान भर्नेलाई होइन । काम गर्नेलाई मौका दिनुपर्छ,’ उनले भने ।

पूर्वकेन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी विभाजन नभई नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएर आएकाले त्यसलाई खुसी भएर स्विकार्नुपर्ने बताइन् । ‘देशमा धेरै परिवर्तन आइरहेको छ, हामीले परिवर्तनसित डराउनु हुँदैन । नेपाली समाजले परिवर्तन चाहेको छ । परिवर्तनलाई खुसी भएर हामीले अँगालो मार्नुपर्छ,’ शनिबार एक भिडियो सन्देश जारी गर्दै कोइरालाले भनिन्, ‘कांग्रेसमा पनि परिवर्तन आएको छ । नयाँ सभापति आउनुभयो । अलि छिटो आउनुभयो, त्यति मात्रै हो ।’

अर्का पूर्वकेन्द्रीय सदस्य दिनेश कोइरालाले थापा नेतृत्वको कार्यसमितिलाई खुसी भएर स्विकार्नुपर्ने बताए । पुराना नेतालाई अभिभावकका रूपमा सम्मान गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ । ‘हामी पार्टी फुट्न नदिने विषयमा छलफल गरिरहेका थियौं, निर्वाचन आयोगले फैसला गरिसकेपछि अब बैठक आवश्यक छैन,’ शेखर कोइरालानिकट उनले भने, ‘सभापतिमा गगन थापा भइसकेपछि सबै एकढिक्का भएर उहाँको नेतृत्वमा निर्वाचनमा जानुपर्छ ।’

नेता शेखर कोइराला पनि आयोगको निर्णयलाई स्विकारेर जाने पक्षमा सकारात्मक देखिएका छन् । शनिबार सानेपा बैठकमा सहभागी भएका कोइरालाले आयोगको निर्णयमा कानुनी उपचार खोज्नेबाहेक सडक आन्दोलन र संघर्ष गर्न नहुने मत प्रकट गरेका थिए । सडक संघर्ष गर्न पूर्वपदाधिकारीहरूको जोड रहे पनि कोइरालाले विमति राखेपछि त्यसबारेमा बैठकले कुनै निर्णय लिएन ।

‘शेखरदाइ मिलाएरै लैजानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ । उहाँ निकट धेरैजसो सदस्य मूल प्रवाहमा फर्कने बताइरहनुभएको छ । तर शेखरदाइ र पूर्वपदाधिकारीहरू अदालतको आदेशको प्रतीक्षामा हुनुहुन्छ,’ उनी निकट एक केन्द्रीय सदस्यले भने, ‘अदालतको आदेश कस्तो आउँछ, त्यसपछि नै कुराकानी अघि बढ्दै जान्छ ।’

विशालनगरस्थित सम्पर्क कार्यालयमा आफूनिकट नेताहरूको कुराकानीमा कोइरालाले चुनाव लड्ने वा नलड्नेबारे व्यक्तिगत स्वतन्त्रताको विषय भन्दै आफैं निर्णय लिन भनेका छन् । ‘मेरोबारेमा के गर्ने भन्नेबारे म आफैं निर्णय गर्छु, चुनाव लड्न इच्छा हुनेहरू लड्नुहोस्, इच्छा नहुनेहरू आफैं विचार गर्नुहोस्, यसमा म केही भन्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘मूल कुरा अदालतले के गर्छ भन्नेमा पूर्वसभापति र उहाँ हुनुहुन्छ । त्यसपछि एक खालको वातावरण बन्ला ।’

कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले असमझदारीलाई न्यूनीकरण गर्ने काम अब नवनिर्वाचित केन्द्रीय नेताहरूबाट हुनुपर्ने बताए । ‘सत्यलाई सबैले स्विकार्नुपर्छ, शेखरदाइ पनि कांग्रेसको मूलप्रवाहमा जोडिनुहुन्छ,’ कार्कीले भने, ‘उहाँका बारेमा कुनै द्विविधा र शंका छ जस्तो लाग्दैन ।’

Deuba's side prepares to go to court, but leaders of the old establishment are opening up in favor of new leadership and a new path.

सानेपामा देउवापक्षीय बैठकले आयोगको निर्णयलाई संविधान, प्रचलित कानुन, स्थापित नजिर र पार्टी विधानको विपरीत ठहर गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने निर्णय लिएको छ ।

‘देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने मनसाय प्रस्ट देखिन्छ । यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो,’ सानेपा बैठकपछि निर्णय सार्वजनिक गर्दै भनिएको छ, ‘निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ ।’

यता कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा नै उम्मेदवार खडा गर्ने तयारी अघि बढाएको छ । सभापति गगन थापाको नेतृत्वमा रहेको संसदीय बोर्डको बैठक शनिबारदेखि नै सुरु भएको छ । कांग्रेसमा टिकट वितरण गर्न सभापतिको नेतृत्वमा संसदीय बोर्ड रहेको छ । सभापतिको नेतृत्वमा रहेको बोर्डमा पदाधिकारीहरू पदेन सदस्य हुन्छन् । त्यसमा सभापतिले केन्द्रीय सदस्यमध्येबाट ११ जना थप्न पाउने अधिकार रहन्छ । देउवा पक्षलाई समेट्ने प्रयास भइरहेकाले अहिले थप सदस्य नियुक्ति नगरी सभापतिले आवश्यकताअनुसार सम्बन्धित क्षेत्रका नेतालाई परामर्शमा राखेर टिकट वितरण तयारी सुरु भएको छ ।

कांग्रेसले यसअघि नै १६५ निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारबाटै छनोट गर्नका लागि ‘सर्ट लिस्ट’ थालेको छ । देउवा पक्षलाई समेट्ने प्रयाससमेत पदाधिकारीले गरिरहेका छन् । कांग्रेसभित्रको बृहत् एकतालगायत टिकट वितरणका विषयमा छलफल गर्न सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले पूर्वसभापति देउवासँग भेटेर कुराकानी गर्न खोजिरहेका छन्, तर शनिबार रातिसम्म समय पाएका छैनन् ।

‘कांग्रेसले आफ्ना सारभूत मूल्य, मान्यता र सिद्धान्तविपरीत गएर कुनै सम्झौता गर्नेछैन । सत्ताका लागि जोसँग, जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य गर्नेछ,’ प्रवक्ता चालिसेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनचाहनाअनुरूप पार्टी अगाडि बढ्नेछ । जसरी हिजोको दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो, त्यसरी नै अब कांग्रेसले वर्तमान संविधानको रक्षा र समयानुकूल परिमार्जनसहित कार्यान्वयन गर्दै समुन्नतिको नेतृत्व गर्नेछ ।’

निर्वाचन आयोगको मान्यता हुँदाहुँदै पनि सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । सानेपाको पार्टी कार्यालय पूर्वसभापति देउवा पक्षले आफ्नो नियन्त्रणमा लिएका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति बैठक बाहिर बसेको छ । देउवा पक्षले भने निरन्तर सानेपामा नै बैठक राख्दै आएको छ । 

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले पार्टी कार्यालय मर्मतका क्रममा रहेकाले आफूहरू केन्द्रीय कार्यालयमा बैठक नबसेको बताए । ‘जेन–जी प्रदर्शनपछि भवनहरू जलेका छन् । बैठक बस्ने उपयुक्त स्थान पनि छैन । अहिले मर्मतको काम चलिरहेको छ,’ उनले भने, ‘अर्को समूह आवेश र उत्तेजनामा पनि देखिएको छ । भवन निर्माण र मर्मतको प्रक्रियामा पनि छ । काम सकिएपछि हामी केन्द्रीय कार्यालय जान्छौं । हामी एकता र मित्रता खोजिरहेका छौं ।’ रसाइलीले निवर्तमान सभापति शेरबहादुर देउवाले गगन थापालाई हात समाएर केन्द्रीय कार्यालयको अध्यक्षको कुर्सीमा राख्दिनुहुन्छ भन्ने चाहनासमेत आफूहरूमा रहेको बताए । 

रसाइलीले पार्टीले घोषणापत्र जारी गरेका दिन प्रधानमन्त्रीसमेत घोषणा गरेर जाने बताएका छन् । अहिले केन्द्रीय समितिबाटै प्रधानमन्त्री घोषणा हुने भए पनि पार्टीभित्रको एकता र सबैको स्वामित्वका लागि निर्णय गर्न हतार नगरिएको उनले बताए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully