आयोगको निर्णयप्रति आपत्ति जनाउँदै पूर्वपार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ र विरोध प्रदर्शन गरेका हुन् ।
डडेल्धुरा — निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता प्रदान गरेको विरोधमा कांग्रेस निकट विभिन्न भ्रातृ संगठनले आइतबार सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् ।
आयोगको निर्णयप्रति आपत्ति जनाउँदै पूर्वपार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्लाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ र विरोध प्रदर्शन गरेका हुन् । आयोगले विशेष महाधिवेशनबाट चुनिएको गगनकुमार थापा नेतृत्वको पार्टीलाई आधिकारिकता प्रदान गरेको विरोधमा उनीहरू आन्दोलित भएका हुन् ।
उनीहरूले आयोगको निर्णय षड्यन्त्रपूर्ण र गलत भएको दाबी गर्दै नाराबाजी गरेका थिए । विरोध दल वा व्यक्तिविरुद्ध नभई आयोगका गलत निर्णयविरुद्ध केन्द्रित रहेको उनीहरूले बताए । घेराउका क्रममा विभिन्न संगठनका प्रतिनिधिले पार्टीप्रतिको निष्ठा र माया कायम रहेको उल्लेख गरेका थिए ।
तर, आयोगको गलत निर्णयविरुद्ध उभिएको उनीहरूको भनाइ थियो । निर्वाचन प्रक्रियामा निष्पक्षता, पारदर्शिता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न निर्वाचन आयोग समक्ष रहोस् भन्ने पनि उनीहरुले माग थियो । माग सम्बोधन नभए आन्दोलन अझ सशक्त बनाउने उनीहरूले चेतावनी दिए ।
