उम्मेद्वार सिफारिस सूचीबाट नाम हटाउन कांग्रेस नेता खड्काको माग

पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै उम्मेद्वार सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्।

माघ ४, २०८२

राकेश नेपाली

Congress leader Khadka demands removal of name from candidate recommendation list

उदयपुर — उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्।

पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रस्तावित उम्मेदवारहरूको सूचीमा परेका खड्काले आफ्नो नाम हटाउन माग गरेका हुन्। उनले केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई आफ्नो यो अनुरोध जानकारी गराइदिन आग्रह गरेका छन्।

‘नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइ दिन हुनका लागि केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराइ दिनहुन अनुरोध गर्दछु,’ खड्काले आफ्नो फेसबुकमा लेखेका छन्। 

उम्मेद्वारका लागि खड्कासहित लक्ष्मी परियार र पूर्वजिल्ला सभापति विदुर बस्नेतको नाम सिफारिस गरिएको छ। २०५६ को प्रतिनिधिसभामा पहिलोपटक भाग लिएर पराजित भएका खड्का २०६४, २०७०, २०७४ र २०७९ मा जितेर पटकपटक मन्त्री समेत भइसकेका छन्। 

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully