विष्णु पौडेलले छाडे रूपन्देही

पाल्पा-२ बाट उमेदवार बन्ने ।

माघ ४, २०८२

घनश्याम गौतम

Bishnu Poudel left Rupandehi

What you should know

बुटवल — दुई दशकयताका निर्वाचन लगातार जित्दै आएका एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णु पौडेलले रूपन्देही-२ छोडेका छन् ।

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पौडेल पाल्पा-२ बाट उमेदवार बन्ने भएका हुन् । पौडेलले २०६४ सालयताका सबै निर्वाचन रूपन्देही-२ बाट जित्दै आएका थिए । २०५१ को निर्वाचन भने साबिकको पाल्पा-३ र अहिलेको पाल्पा-२ बाटै जितेका थिए । २०७९ को निर्वाचनमा रूपन्देही-२ बाट झिनो मतान्तरले जितेका पौडेल पाल्पा-२ मा जानुलाई रूपन्देहीबासीले आश्चर्य मानेका छन् ।

जिल्ला नेताहरू र स्वयं पौडेलले कुनै प्रतिक्रिया व्यक्त नगरे पनि एमालेको सचिवालय बैठको शनिबार रातीको बैठक अनुसार पौडेललाई पाल्पा-२ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले रूपन्देही १, २ र ४ नम्बरमा पार्टी अध्यक्ष केपी शर्मा ओली आफैंले पछि निर्णय लिने गरी छाडिएको छ भने ३ बाट वासुदेव घिमिरे र ५ बाट खिमलाल भट्टराईलाई टिकट दिइएको छ । पाल्पा- २ मा उपाध्यक्ष पौडेललाई टिकट दिँदा १ नम्बरमा नारायण आचार्यले टिकट पाएका छन् । एमालेका लागि पाल्पा-२ भन्दा १ सुरक्षित क्षेत्र मानिन्छ ।

एमालेले कपिलवस्तुमा शनिबारमात्र एमाले प्रवेश गरेका वीरेन्द्र कानोडियालाई उम्मेदवार बनाएको छ । दाङको १ र २ पछि छलफल गर्ने गरी ३ मा घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ । गुल्मीमा १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी बाँकेको १ मा सूर्य ढकाल र ३ मा दलबहादुर सुनारलाई उम्मेदवार बनाउँदा २ मा निर्णय गरिएको छैन । बर्दियामा १ मा सालिकराम अधिकारी र २ मा विमला विकलाई उम्मेदवार बनाएको छ । एमालेले प्यूठानमा सूर्य थापालाई टिकट दिएको छ ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully