देउवा किनार लागेसँगै सागर ढकालले भने, मेरो मिसन पूरा भयो, डडेलधुराबाट चुनाव लड्दिनँ

उनले यस विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भएको जानकारी दिए।

माघ ४, २०८२

विमल खतिवडा

As soon as Deuba reached the shore, Sagar Dhakal said, ”My mission is complete, I will not contest the election from Dadeldhura.”

What you should know

धनगढी — डडेलधुराबाट चुनाव लड्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले कांग्रेसभित्रको राजनीतिक उथलपुथलसँगै शेरबहादुर देउवा किनार लागेपछि त्यहाँबाट चुनाव नलड्ने निर्णय गरेका छन्।

कान्तिपुरसँग कुरा गर्दै ढकालले कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि आफूले डडेलधुराबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको बताए। उनले यस विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भएको जानकारी दिए।

देउवाको बहिर्गमनलाई ‘ढलेको रुख’को संज्ञा दिँदै ढकालले देउवा चुनाव उठे पनि आफू डडेलधुराबाट नउठ्ने स्पष्ट पारे। उनले भने, ‘हजुरबुबा पुस्ता सबै ढलिसक्यो। शेरबहादुर देउवा पार्टीबाटै हटिसकेपछि र टिकट गगन थापाले दिने अवस्था आएपछि म किन डडेलधुरा जानु ?’

अब कहाँबाट चुनाव लड्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउँदै उनले आइतबारभित्र टुंगो लाग्ने बताए। ‘रुपन्देही वा गुल्मीमध्ये कुनै एक स्थानबाट चुनाव लड्छु,’ उनले भने।

अघिल्लो चुनावमा डडेलधुराबाट उम्मेदवारी दिनु समयको आवश्यकता भएको उल्लेख गर्दै ढकालले अब डडेलधुरासहित समग्र सुदूरपश्चिमका मुद्दा उठाइरहने बताए। ‘डडेलधुरा नजाँए पनि त्यहाँका मुद्दा उठाउँछु,’ उनले भने।

२०७९ मंसिर ४ को निर्वाचन आउनु ठीक चार महिना अघि ढकालले फेसबुकमा लेखेका थिए— ‘नाइट बस चढेर डडेलधुरा जाँदै छु।’ त्यसपछि डडेलधुरा पुगेर तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकालले १३ हजार ४३ मत प्राप्त गरेका थिए। देउवाले २५ हजार ५३४ मत ल्याएर चुनाव जितेका थिए।

सम्बन्धित समाचार

फेरि पनि डडेल्धुराबाटै चुनाव उठ्छु : सागर ढकाल

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully