'अहिलेम्म म नै हो । अरु साथीहरु पनि दमदार नै हुनुहुन्छ । आकांक्षी हुनुहुने सबैसँग भेटिसकेको छु ।'
What you should know
डडेलधुरा — २०७९ सालको संसदीय निर्वाचनमा गुल्मीका सागर ढकाल डडेल्धुरा पुगे। त्यो पनि डडेल्धुराबाट छ पटकसम्म लगातार चुनाव जितेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस नेता शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न।
सुरुवाती दिनमा धेरैले नपत्याए पनि उक्त निर्वाचनमा सागरले देउवालाई राम्रै टक्कर दिए। देउवाले २५ हजार ५ सय ३४ मत ल्याएर विजयी भए भने सागरले १३ हजार ४२ मत प्राप्त गरे।
त्यतिबेला स्वतन्त्र उम्मेदवार बनेका सागर अहिले भने रास्वपा पार्टी प्रवेश गरिसकेका छन्। डडेल्धुराकै स्थानीयहरू आसन्न प्रतिनिधिसभा निर्वाचनमा आकांक्षी देखिरहँदा सागर भने फेरि पनि देउवासँग प्रतिस्पर्धा गर्न आउने तयारीमा छन्। डडेल्धुरामा रास्वपाबाट आधिकारिक उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेका ढकालसँग कान्तिपुरकर्मी विमल खतिवडाले गरेको संक्षिप्त कुराकानीः
तपाईं डडेल्धुराबाटै फेरि चुनाव लड्दै हुनुहुन्छ कि के छ ?
हो, यो पटक म डडेल्धुराबाटै चुनाव उड्दैछु । अबको केही दिनमै चुनावी प्रचार–प्रसारका लागि डडेल्धुरा जाँदैछु ।
चुनाव आउन लाग्यो, तयारी के छ ?
काठमाडौंमा भएको डडेल्धुरा सम्पर्क समितिसँग सम्पर्कमा छु । युवाहरुलाई जम्मा गरिरहेका छौं । चुनावी माहोल बनाउन सुरु गरिसकेको छु ।
पार्टीबाटै निर्णय भइसकेको हो र ?
अफिसियल रुपमा निर्णय त कसैको पनि भइसकेको छैन । लगभग मेरो फाइनल जस्तै हो ।
डडेल्धुरामा रास्वबाबाटै धेरै आकांक्षी हुनुहुँदो रैछ, उहाँहरुसँग तपाईं सम्पर्कमै हुनुहुन्छ छ कि के छ ?
प्रजातन्त्रमा धेरै आकांक्षी हुनु राम्रो पनि हो । हुनु पनि पर्छ । एउटा व्यक्ति मात्र आउने कुरा हुँदैन । चाहे बालेन्द्र शाहको क्षेत्र होस्, चाहे रवि लामिछानेकै क्षेत्र होस् । चाहे मेरो नै किन नहोस् । जित्ने संभावना र राष्ट्रिय राजनीतिमा को ठीक हुन्छ भन्ने हो ।
भनेपछि पार्टीबाट तपाईंकै नाम टुंगिन्छ, होइन ?
अहिलेम्म म नै हो । अरु साथीहरु पनि दमदार नै हुनुहुन्छ । आकांक्षी हुनुहुने सबैसँग भेटिसकेको छु । उहाँहरुप्रति मेरो सम्मान छ । सबैजना सकारात्मक हुनुहुन्छ । सहयोग गर्छु भन्नु भएको छ । विरोधमा कोही पनि हुनुहुन्न । डडेल्धुरा आएपछि सहयोग गर्छौं भन्नु भएको छ ।
चुनाव पछि खासै जिल्ला आउनु भएन भन्ने मतदाताको गुनासो रैछ, फेरि चुनाव सकिएलगत्तै डडेल्धुराका जनता ‘भेडा’ रैछन् भनेर हिँड्नु भयो भन्ने स्थानीयका गुनासा रैछन, खास के हो ?
जति पनि आंकाक्षी हुनुहुन्छ । उहाँहरु भन्दा धेरै डडेल्धुराका विभिन्न ठाउँहरु पुगेको छु । जेन–जी आन्दोलनका बेला म डडेल्धुराको गाउँ–गाउँमा थिए । त्यही बेला बालेन्द्र शाह लगायतले काठमाडौं बोलाउनु भयो र गएँ । भेडा भनेर अपमानजनक शब्द मैल बोलेको छैन । त्यस्तो नभनी दिनुहोला भनेर लेखेका कुरा तीन वर्षदेखि सामाजिक सञ्जाल ट्विटरमा मैले पिन गरेर राखेको छु । त्यहाँ स्पष्टीकरण दिएको छु ।
उहाँहरुले यस्तो गुनासो गर्नु स्वभाविक हो । हामी यसलाई चिरेर अघि बढ्छौं । यति धेरै मैले मत पाउनमा उहाँहरुको ठूलो योगदान छ । डडेल्धुरा जस्तो ठाउँमा १३ हजार मत पाउनु ठूलो कुरा हो । उहाँहरुले देशको राजनीति नै परिवर्तन गरिदिनु भयो । त्यसैले अब जग खनिसकियो । अब ढलाई मात्र गर्ने हो ।
म त्यति टाढा गएर उम्मेदवारी भई सम्माजनक मत ल्याएको र यही उदाहरण देखेर बालेन्द्र शाह पनि झापा–५ मा केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाका लागि जाँदै हुनुहुन्छ । उहाँलाई हामीले प्रधानमन्त्रीका रुपमा अघि सारेका छौं ।
