पार्टीभित्रको विद्रोहबाट उदाएकी पुष्पा भुसाल

यस अवधिमा उनी नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेसकी सल्लाहकार, पार्टीको कानुनी सल्लाहकार समिति सदस्य, महिला विभाग सदस्य हुँदै नेपाल महिला संघको दुई कार्यकाल महासचिव बनिन् ।

माघ ३, २०८२

वीरेन्द्र केसी

Pushpa Bhusal, who emerged from a rebellion within the party

What you should know

अर्घाखाँची — वकालत, प्राध्यापन हुँदै उपसभामुख ओहोदामा पुगिन् । थुप्रैपटक जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिन् । कहिले सफल भइन् त कहिले विफलता हात लाग्यो । तर, उनले संघर्षको बाटो भुलिनन् । त्यसैको प्रतिफल अर्घाखाँचीकी पुष्पा भुसाल गौतम पुस अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भइन् । 

पार्टी उपसभापतिसम्मको यात्रा उनका लागि सहज थिएन । जेनजी आन्दोलनपछि मुलुककै पुरानो पार्टीमा पनि रूपान्तरणको कुरा जोडतोडले उठ्न थाल्यो । तत्कालीन समय संस्थापन निकट भुसालसहित ३० जना केन्द्रीय सदस्यले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व पार्टीको नियमित महाधिवेशन हुनुपर्ने मत राखेका थिए । 

कांग्रेसको संस्थापन पक्ष नियमित महाधिवेशनको बाटोमा नजाने प्रस्ट भएपछि पूर्व पार्टी सभापति शेरबहादुर देउवासितको सहयात्रा तोडेर ६५ वर्षीय भुसाल गगन थापा र विश्वप्रकाश शर्मा समूहमा खुलिन् । उनको त्यही निर्णयले विशेष महाधिवेशनबाट कांग्रेस उपसभापति बन्ने बाटो खुल्यो । उनी शैलजा आचार्यपछि उपसभापति हुने दोस्री महिला हुन् । 

भुसाल २०१७ फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका पिता कांशीनाथ गौतम २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री थिए । ०१७ सालमा प्रजातन्त्र खोसिएपछि कांशीनाथ स–परिवार १४ वर्ष भारतमा बसे । भारत बसाइँका क्रममा राजनीति बुझ्न थालेकी भुसालले ०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिक यात्रा सुरु गरिन् । 

यस अवधिमा उनी नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्य, ट्रेड युनियन कांग्रेसकी सल्लाहकार, पार्टीको कानुनी सल्लाहकार समिति सदस्य, महिला विभाग सदस्य हुँदै नेपाल महिला संघको दुई कार्यकाल महासचिव बनिन् । तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काको सहयोगमा ०५६ सालमा अर्घाखाँची–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनिन् । 

त्यसबेला एमाले–राष्ट्रिय जनमोर्चा गठबन्धनका उम्मेदवार डा. डिल्लीराज खनालसँग पराजित भइन् । ०६४ को पहिलो संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइन् । २०७० सालमा क्षेत्र नं २ बाट उम्मेदवार बनेकी उनी एमालेका डा. दुमनसिंह थापासँग पराजित भइन् । त्यसपछि ०७४ मा समानुपातिक सांसद बनेर उपसभामुख बनिन् । ०७९ सालमा कांग्रेस–माओवादीसहितको पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् । तर, एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । 

यसपटक पनि फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक रोजेकी थिइन् । जिल्लाबाट सिफारिस भए पनि कांग्रेस केन्द्रले ०६४ देखि ०७९ को चुनावसम्म समानुपातिकमा अवसर पाइसकेका नेतालाई नदोहोर्‍याउने मापदण्ड बनाएपछि उनी बन्द सूचीमा परिनन् । भुसालले ०६३ सालमा अन्तरिम संविधान मस्यौदा समिति र ०६४ को संविधान मस्यौदा समितिमा रहेर सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । 

यसअघि उनी कांग्रेसको १२, १३ र १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । लामो समय देउवा निकट भुसाल तत्कालीन संस्थापन पक्षले गत भदौ तेस्रो साता भएको जेनजी आन्दोलनलाई केही होइन जस्तो गर्न थालेपछि आफू अलग्गिएर हिँडेको बताउँछिन् । विशेष महाधिवेशन उद्घाटन सत्रमा नेता शैलजालाई सम्झिँदै कांग्रेसलाई वाम गठबन्धनबाट मुक्त बनाउनु पर्ने बताएकी थिइन् । 

जनताको कांग्रेस बनाउनु पर्ने भन्दै शैलाजाले भनेजस्तै दूबोसरी फैलिने पार्टी बनाउनुपर्ने उद्घोष गरिन् । विद्यार्थीकालदेखि उनको ५० वर्षे राजनीतिक यात्राका क्रममा अहिले कांग्रेसको तेस्रो वरीयतामा छन् । अर्घाखाँचीबाट कुनै पनि राजनीतिक दलमा उच्च पदमा पुग्ने भुसाल पहिलो नेता बनेकी छन् । यस्तो उपलब्धिले जिल्लाका नेता–कार्यकर्तामा उत्साह थपिएको कांग्रेस जिल्ला उपसभापति विष्णुप्रसाद भुसालले बताए ।  

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully