समानुपातिक सूचीबाट टासीको नाम फिर्ता लिएपछि रास्वपा केन्द्रीय कार्यालयमा धर्ना

टासी ल्हाजोमलाई समानुपातिकमा जनजाति क्लस्टरबाट एक नम्बरमा राखिएको थियो ।

माघ ३, २०८२

विवेक पोख्रेल

Protest at RSVP central office after Tasi's name was withdrawn from the proportional list

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा धर्नामा छन् ।

शुक्रबार दिउँसो २ बजेदेखि उनीहरू पार्टीले बनाएको समानुपातिक सूचीमा कर्णालीको प्रतिनिधित्व नभएको र टासी ल्हाजोमको नाम सूचीबाट हटाइएको विषयमा नेतृत्वको ध्यानाकर्षण गराउन धर्नामा बसेका हुन् ।

कर्णाली प्रदेश समिति सदस्य बुधे बुढाले १४ जनाको समूह रातभरि नै पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेको बताए । उनीहरु शनिबार बिहानसम्म पनि उनीहरु धर्नामा नै छन् ।

‘टासी ल्हाजोमलाई समानुपातिकमा जनजाति क्लस्टरबाट एक नम्बरमा राखिएको थियो । उहाँले फिर्ता नलिँदासमेत पार्टी आफैंले नाम झिकिदिएछ,’ उनले भने, ‘समानुपातिकमा कर्णालीको प्रतिनिधित्व पनि छैन । त्यसकारण नेतृत्वको ध्यानाकर्षण गराउन हामी यहाँ रातभर जागराम बस्यौं ।’

‘हामीलाई टासीले बोलाएको होइन, बरु उसलाई बोलाएका हौं । जनजाति युवा र महिलाको पनि प्रतिनिधित्व हुँदा कर्णाली खुशी थियो । तर, उसको नाम पार्टीले किन हटायो ?,’ उनले अघि भने ,‘पार्टीसँग निहु खोज्नका लागि होइन । गल्ती के हो ? भन्नुपर्‍यो । हामी उत्तर खोज्न आएका हौं । हामी उत्तर नपाएसम्म यहाँबाट जादैँनौं ।’

चितवनको भेलाले जेन–जी, महिला र भूगोलको प्रतिनिधित्व छुटाए पनि कर्णालीले अनुभूति नगरेको उनले सुनाए । आफूहरुले यस विषयमा उत्तर खोज्दा कसैबाट पनि नपाएको उनको गुनासो छ । ‘पार्टी सभापतिसँग भेट नै भएको छैन । हामी पार्टी कार्यालयमा कुरेर बसेका छौं । आशा छ हामीलाई अन्याय नहोस् । कर्णालीलाई हेर्ने नजर फरक नहोस् । सिंगो कर्णाली प्रदेशका साथिहरु सबै जोडिनु भएको छ,’ बुढाले थपे,‘रास्वपा न्यायका लागि हिँड्ने पार्टी हो भने किन यस्तो भयो ।’

बुधबार रास्वपाले समानुपातिक सूचीबाट टासीको नाम हटाएको विषय सार्वजनिक भएको थियो । आदीवासी जनजाति क्लस्टरमा उनको नाम थियो । टासी आफैंले भने सूचीबाट नाम फिर्ता नलिएको बताएकी छन् ।

 ‘मैले पार्टीको प्रक्रिया अनुसार उम्मेदवारी दिएकी हुँ । नाम हटाउने विषयमा मसँग कुनै पनि सल्लाह भएको छैन,’ उनले भनिन् ,‘मैले नाम पनि फिर्ता लिएको छैन ।’

टासीले आफूमाथि लगाइएको आरोप प्रमाणीत गर्न चुनौतीसमेत दिएकी छिन् । ‘मैले पटक–पटक भन्दै आएको छु, म तिब्बतीयन हैन । नेपालको नागरिक हुँ । तिब्बतीयन मुमेन्टसँग पनि कतै जोडिएको छैन,’ उनले भनिन्,‘ मलाई यो किसिमको आरोप हो भने प्रमाण दिनुस् । हल्लाको पछाडि लागेर जे पनि गर्न मिल्छ र ? म आफैंले आफैलाई नेपाली भनेर किन प्रमाणीत गरिरहनु परेको छ । म फ्रि तिब्बतको अभियानमा कुनै पनि तवरमा संलग्न भएकी छैन । मेरा प्रेमी तिब्बती पनि होइनन् ।’

उनी आफूले पाटीलाई बलियो बनाउन चाहेकाले पार्टीसँग सुशासनको प्रश्न गरिरहेको बताइन् । आफूहरु नेतृत्वमा विश्वास गर्ने र नेतृत्वले यसलाई सुधार गर्दै लैजाने बताइन् । पार्टी सदस्य हुँदासमेत आफूले सबै प्रक्रिया पूरा गरेको उनले बताइन् । 

रास्वपाका मुगु जिल्ला उपसभापति मनोज कुमार शाही कर्णाली प्रदेशलाई अन्याय नहोस् भनेर आफूहरु निरन्तर धर्नामा रहेको बताउँछन् । उनले भने, ‘यो सुशासनको धर्ना हो ।’ यसअघि रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफल गरी नाम फिर्ता लिएको बताएका थिए । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully