राष्ट्रिय सभाको अधिवेशन आइतबारदेखि

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन-जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । 

माघ ३, २०८२

रासस

National Assembly session begins Sunday

काठमाडौँ — राष्ट्रिय सभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदैछ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन-जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । 

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोकप्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशनको सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आइतबारका दिन ११:०० बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका थिए । गत भदौ ३१ गते राष्ट्रिय सभाको १८औँ अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रिय सभाको १९ सदस्यका लागि निर्वाचनको तयारी पनि गरेको छ । राष्ट्रिय सभा सदस्यमा एकजना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

रासस

Link copied successfully