देउवा पक्षको बैठकमा नगएका नेता कोइराला भन्छन्– 'अब सभापति थापाको नेतृत्वमा एक ढिक्का भएर अघि बढ्नुपर्छ'

दिनेश कोइरालाले पार्टी एकताबद्ध भई निर्वाचन आयोगको निर्णय अनुसार अघि बढ्नुपर्ने बताउँदै बैठकमा नगएको बताए ।

माघ ३, २०८२

कान्तिपुर संवाददाता

Leader Koirala, who did not attend the Deuba faction meeting, says - 'Now we must move forward as one under the leadership of Chairman Thapa'

काठमाडौँ — चितवनमा हरेक निर्वाचनमा ‘रुखमा मतदान गर्न पाउनुपर्छ’ भन्दै आवाज उठाउँदै आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला शनिबार सानेपामा आयोजित पार्टी सभापति शेरबहादुर देउवा पक्षको बैठकमा सहभागी भएनन् ।

कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर निर्वाचन आयोगको निर्णय अनुसार अघि बढ्नुपर्ने बताउँदै बैठकमा नगएको बताए । 

'पुराना नेतालाई अभिभावकका रूपमा सम्मान गर्दै अघि बढ्न पर्छ । हामी पार्टी फुट्न नदिने विषयमा छलफल गरिरहेका थियौँ,' कोइरालाले भने, 'निर्वाचन आयोगले फैसला गरिसकेपछि अब बैठकको आवश्यकता छैन ।' उनका अनुसार पार्टी सभापति गगन थापा भइसकेको सन्दर्भमा अब कांग्रेस एक ढिक्का भएर थापाको नेतृत्वमा आगामी निर्वाचनमा अघि बढ्नुपर्ने आवश्यकता छ ।

उनी २०७९ को चुनावमा चितवन क्षेत्र नम्बर ३ मा पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएपछि पार्टीबाट निष्कासनमा समेत परेका थिए । उनी शेखर कोइराला निकट नेता मानिन्छन् ।

कान्तिपुर

Link copied successfully