रवि लामिछानेविरुद्ध अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Writ petition filed in Supreme Court seeking quashing of Attorney General's decision to amend charges against Ravi Lamichhane

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने गरी महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय र रवि लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् । उनको निवेदन दर्ता हुने वा नहुनेबारे अध्ययनकै क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ । 

महान्यायाधिवक्ताको कार्यालयले पुस ३० गते गरेको उक्त निर्णय र सोसँग सम्बन्धित पत्राचारहरू उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ । साथै उनले लामिछानेमाथि लागेका सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाहरूलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरिएको छ । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम नयाँ प्रमाण फेला परेको अवस्थामा बाहेक अभियोग संशोधन गर्न नमिल्ने कानुनी प्रावधान भए पनि लामिछानेलाई उन्मुक्ति दिने नियतले स्वेच्छाचारी निर्णय गरिएको निवेदकको जिकिर छ ।

कान्तिपुर संवाददाता

Link copied successfully