उनले पैसाको चलखेल र मसलको प्रयोग नियन्त्रण गर्ने विषयमा निर्वाचन आयोग कति तयार छ भनेर पनि जिज्ञासा व्यक्त गरे।
काठमाडौँ — एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ प्रणाली के हो भन्ने प्रश्न गरेका छन् ।
शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। उनले पैसाको चलखेल र मसलको प्रयोग नियन्त्रण गर्ने विषयमा निर्वाचन आयोग कति तयार छ भनेर पनि जिज्ञासा व्यक्त गरे।
सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयनमा नजाँदा विगतका निर्वाचनहरू पनि सहज हुन नसकेको स्मरण गराउँदै भने,
‘आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानका लागि मनिटरिङ प्रणाली प्रभावकारी नहुँदा यो कार्यान्वयन प्रभावकारी हुन सकेको छैन। निर्वाचन सहज बन्न सकेको छैन।’
उनले निर्वाचनका लागि उम्मेदवारहरू ढुक्कका साथ जनतामाझ जान पाउने, भयमुक्त वातावरणमा कुनै प्रलोभनमा नपरी निष्पक्ष प्रतिस्पर्धा गर्न पाउने अवस्था अझै सुनिश्चित भइनसकेको बताए। यस्ता विषयमा विश्वास दिलाउने जिम्मेवारी निर्वाचन आयोगकै भएको उल्लेख गर्दै उनले अनुगमन प्रणालीमा थप सुधार गर्न सुझाव दिए।
