नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का

खड्काले पार्टीको विधान, संविधान र कानुन तथा आयोगबाट विगतमा भएका निर्णयको नजिरहरू समेतका आधारमा निर्णय दिन माग गरे ।

माघ २, २०८२

कान्तिपुर संवाददाता

The justification for the demand for a special general convention ended on the same day the regular date was set: Khadka

काठमाडौँ — नेपाली कांग्रेसको देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनको मिति तोकिएकै दिन विशेष महाधिवेशनको माग गर्दै परेको निवेदनको औचित्य समाप्त भइसकेको दाबी गरेका छन्।

उनले विशेष महाधिवेशन माग गर्ने पक्षधरकै सहमति र सहभागितामा केन्द्रीय कार्यसमितिले निर्णय गरेर नियमित महाधिवेशनतर्फ पार्टी अघि बढेको बताए। 

शुक्रबार निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै खड्काले भने, 'पार्टीको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १५ गतेको बैठकबाट नियमित महाधिवेशनको मिति तोकेको थियो। त्यहाँ विशेष महाधिवेशनको मागको निवेदनमाथि छलफल भएरै हामीले महाधिवेशनको मिति तोकेका थियौँ। त्यसकारण नियमित महाधिवेशनको मिति तोकिएकै दिन विशेष महाधिवेशनको मागको औचित्य समाप्त भएको कुरा म निर्वाचन आयोगलाई जानकारी गराउँछु।' 

उनले पार्टीको विधानबमोजिम नै कार्यकाल पूरा भएपछि पनि एक वर्षसम्म म्याद थपेर जान सकिने व्यवस्था रहेको बताए। खड्काले पार्टीका निर्णयहरू र दस्तावेजहरू समेत आयोगलाई बुझाउँदै पार्टीको विधान, संविधान र कानुन तथा आयोगबाट विगतमा भएका निर्णयको नजिरहरू समेतका आधारमा निर्णय दिन माग गरे ।

कान्तिपुर

Link copied successfully