उनले जेन-जी विद्रोहपछि शेखरलाई संक्रमणकालमा नेतृत्व गर्नुस् भनेर पनि आफूले अनुरोध गरेको बताए । यसबारे आफूले विश्वप्रकाशसँगै गएर कोइरालालाई भनेको पनि उनले प्रस्ट्याए ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टीमा विशेष महाधिवेशन गर्नुपर्छ भनेर सुरुमा बोल्ने व्यक्ति शेखर कोइराला रहेको बताएका छन् । कान्तिपुरको पडकास्ट श्रृङ्खला वियोन्ड दि हेडलाइनसँग प्रत्यक्ष कुरा गर्दै थापाले शेखर कोइरालाको भूमिकाबारे खुलेर कुरा गरे ।
उनले जेन-जी विद्रोहपछि शेखरलाई संक्रमणकालमा नेतृत्व गर्नुस् भनेर पनि आफूले अनुरोध गरेको बताए । यसबारे आफूले विश्वप्रकाशसँगै गएर कोइरालालाई भनेको पनि उनले प्रस्ट्याए ।
सुरुमा शेखरकै आह्वान सुनेर कैयन साथीहरु विशेष महाधिवेशनको पक्षमा लागेको तर पछि उहाँ ठीक ढंगले नउभिएको बताए । थापाले भने, 'मलाई नरमाइलो लागेको छ । यो लडाइँमा मैले सबैभन्दा ठूलो साथ उहाँबाट पाउछु भन्ने लागेको थियो ।' लिडरसिप चेन्जमा उहाँबाट साथ पाउने आशा राखे पनि आफूहरुले नपाएको उनले बताए ।
अघिल्लो महाधिवेशनमा शेखर कोइराला समूहबाट थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । उनले शेखरसँग आफूले अपेक्षा राखेको पनि बताए । उनले भने, 'हिजो मात्रै उहाँले घर फर्किनुस् भनेर आह्वान गर्नुभएको थियो । अब उहाँले के आह्वान गर्नुहुन्छ भन्ने अपेक्षा छ । गगन थापा नेतृत्वमा रहेको घर नै मूलघर हो । हिजोसम्म हामी आधिकारिकताको विवादमा थियौं । अब त्यो टुंगिएको भनेर उहाँले आह्वान गर्नुपर्यो नि त । त्यो अपेक्षा छ ।'
