निर्वाचन आयोगलाई पुनको प्रश्न : निर्वाचनमा सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ ?

पुनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने विषयमा पनि निर्वाचन आयोगले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

माघ २, २०८२

कान्तिपुर संवाददाता

Pun's question to the Election Commission: How is the information technology sector monitored during elections?

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आसन्न निर्वाचनमा सूचना प्रविधि क्षेत्रको अनुगमन कसरी हुन्छ भन्ने विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताएका छन्।

निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफल कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आचारसंहिता अनुगमनका लागि भरपर्दो संयन्त्र (मेकानिजम) को व्यवस्था गर्न पनि आयोगलाई सुझाव दिए।

नेता पुनले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सूचना प्रविधिको दुरुपयोग हुन नदिन निर्वाचन आयोगले विशेष ध्यान दिनुपर्ने बताए। उनले प्रधानमन्त्री सुशिला कार्की तथा विभिन्न मन्त्रीहरूले दिएका सार्वजनिक अभिव्यक्तिबारे पनि टिप्पणी गरे। उनले भने, ‘हामी बाहिरबाट सुनिरहेका छौँ—प्रधानमन्त्री, मन्त्रीज्यूहरूले यस्तालाई जिताउनु पर्छ, यस्तालाई हराउनु पर्छ भनेर बोलेका भाषणहरू। यसलाई कसरी हेर्नुहुन्छ ? अहिले गैरदलीय सरकार छ। विभिन्न तहका सरकार छन्—प्रदेश सरकार, स्थानीय सरकार। यस विषयमा आचारसंहितामा राम्रैसँग व्यवस्था गरिएको छ। तर यसको कार्यान्वयन हुन्छ कि हुँदैन ?’

पुनले निर्वाचनमा राज्यको शक्ति र स्रोतको दुरुपयोग हुन नदिने विषयमा पनि निर्वाचन आयोगले ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

कान्तिपुर

Link copied successfully