ओलीले भने, ‘कांग्रेसका नेताहरुले जानीबुझीकन किन यस्तो काम गरेका हुन् ?’

उनले भने, ‘कसले गराउँदैछ यो काम ? किन यस्ता कुरा हुँदैछन् ?’

माघ २, २०८२

कान्तिपुर संवाददाता

Oli said, ”Why did Congress leaders deliberately do this?”

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख हुनु दुःखद विषय भएको बताउँदै कांग्रेसका नेताहरुले जानीबुझीकन किन यस्तो काम गरेका हुन् भन्ने प्रश्न गरेका छन्। एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले अहिले प्रजातन्त्र मिचिएको, प्रणाली घायल बनाइएको र संविधान कमजोर पारिएको अवस्था रहेको उल्लेख गर्दै यस्तो बेला यी विषयमा चिन्तित हुनुपर्ने नेपाली कांग्रेस अनावश्यक लडाइँमा फसेको आरोप लगाए। उनले भने, ‘कसले गराउँदैछ यो काम ? किन यस्ता कुरा हुँदैछन् ?’

ओलीले एमाले नेताहरुलाई सम्बोधन गर्दै सानातिना असन्तुष्टि भए छोडेर अघि बढ्न आग्रह गरे। उनले भने, ‘अहिले देशका लागि लड्ने बेला हो।’ शान्ति, संविधान र लोकतन्त्र जोगाउन लड्नुपर्ने बेला आएको पनि उनले बताए।

उनले विभिन्न व्यक्तिहरु नाटक गरिरहेको टिप्पणी गर्दै भने, ‘फुत्त कताबाट एउटा छिर्छ, हिरो भएर। कत्रो बलिदान, संघर्ष र त्याग गरेर ल्याएको लोकतन्त्र र देश जलिरहेको बेला आफैँ नायक हुँ भन्दै झण्डा ओडेर निस्कँदा हामीलाई कस्तो लाग्छ होला ?’

ओलीले बौद्धिक जगत देशप्रति जिम्मेवार छ कि छैन भन्ने प्रश्न पनि उठाए। उनले भने, ‘देशको र संविधानको हुर्मत लिइएको छ। के लोकतन्त्र राजनीतिक पार्टीका नेताहरुलाई मात्रै चाहिएको हो ?’

कान्तिपुर

Link copied successfully