प्रशासकीय भवन उद्घाटन गर्दै नेकपाका संयोजक पुष्पकमल दाहालले समाजमा विचार र सिद्धान्तको अभाव बढ्दै गएको भन्दै देश फेरि दुर्घटनामा पर्न सक्ने खतरा औंल्याएका छन्।
चितवन — पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले फागुन २१ मा निर्वाचन हुने विषयमा कुनै दुबिधा नराख्न अपिल गरेका छन्। शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले निर्वाचन हुने तर विचार–सिद्धान्त नभएका 'स्टन्टबाज'हरूले मतदाताको दिमाग भ्रमित पार्ने पो हुन् कि भन्ने चिन्ता बढेको बताए।
भरतपुरकी मेयर रेणु दाहाल पुष्पकमलकी छोरी हुन्। उनी दोस्रो पटक मेयर चुनिए पनि अब संघीय सांसदमा उठ्दै छिन्।
उम्मेदवार दर्ता गर्ने समय नजिक आउँदै गर्दा प्रशासकीय भवन उद्घाटन गर्न आएका दाहालले सिद्धान्तहीनहरूको पछि लागे देश फेरि दुर्घटनामा पर्न सक्ने चेतावनी दिए। चितवन–३ बाट निर्वाचनमा उठ्ने तयारीमा रहेकी रेणु दाहालसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसअघि काठमाडौंबाट निर्वाचित सोविता गौतमलाई उठाउने चर्चा छ। प्रशासकीय भवन पनि पूरा नहुँदै उद्घाटन गर्न हतारो गरेको भन्दै रास्वपाको भरतपुर महानगर समितिले विरोध गर्दै विज्ञप्ति पनि निकालेको थियो।
मन्तव्यका क्रममा नेता दाहालले कुनै दल वा व्यक्ति विशेषको नाम त लिएनन् तर उनले सुरुमा नै भने, ‘यहाँको विकास देखेर कतिपय मानिसहरू लोभिएका हुन सक्छन्। आफ्नो ठाउँमा, आफ्नो क्षेत्रमा विकास गर्न नसकेर भरतपुरलाई आफ्नो प्रभावमा पार्न सकिन्छ कि भनेर विभिन्न कसरतहरू पनि भएका हुन सक्छन्।’ उनले समाजमा त्याग, विचार, सिद्धान्त नचाहिने तर सोसल मिडियामा स्टन्ट गरेर मानिसहरूको दिमाग भ्रमित गर्ने चलन बढेको बताए।
‘आजभोलि कता–कता विचार पनि नचाहिने, सिद्धान्त पनि नचाहिने, त्याग–तपस्याको लामो शृङ्खला पार गर्न पनि नपर्ने, सोसल मिडियामा स्टन्ट गरेकै भरमा मानिसहरूको दिमाग चाट्ने प्रक्रिया तपाईँहरूले देखेकै हुनुहुन्छ। कहिलेकाहीँ मानिसहरूको दिमाग त्यस्तै स्टन्टबाजप्रति भ्रमित हुने हो कि भन्ने चिन्ता छ,’ दाहालले भने। उनले भदौ २४ मा त्यस्तै स्टन्टबाजहरूका कारणले देश खरानीजस्तै भएको र त्यो कुनै विचार, सिद्धान्त, आदर्शका कारणले नभएको टिप्पणी गरे।
‘अहिले हामी सतर्क भएनौँ भने सिद्धान्तहीन, विचारहीन, आदर्शहीन, निष्ठाहीनका होहल्लाका पछि लागे देश फेरि दुर्घटनामा पर्न सक्छ,’ दाहालको भनाइ थियो। उनले नेपाली काँग्रेसको विशेष महाधिवेशन र काँग्रेसको विभाजनपछि निर्वाचन के होला भन्ने प्रश्न सबैको मनमा जन्मे पनि यसले निर्वाचन प्रक्रिया नबिथोलिने बताए। यस्तो बेला ठूलो दल विभाजित हुनु राम्रो र सुखद नभए पनि भइहाल्यो भन्दै अब सहजीकरण गर्ने र प्रक्रिया अगाडि बढाउनुको विकल्प नभएको बताए।
‘मैले त्यसपछि पनि सरकारका केही मन्त्रीसँग कुरा गरेँ, निर्वाचन आयोगसँग बुझेँ, सेक्युरिटी फोर्सेससँग पनि बुझ्ने कोसिस गरेँ। सबैतिरबाट यसले निर्वाचन प्रक्रियालाई असर गर्दैन भन्ने जवाफ छ। सरकारको पनि दृढता छ—चुनावमा असर पर्न दिइँदैन। हेरौँ भरे–भोलिसम्म नेपाली काँग्रेसको विवादबारे आधिकारिकता र चुनाव चिह्नको विवादबारे एउटा निरूपण हुनेछ। त्यसपछि प्रक्रिया अगाडि बढ्छ भन्नेमा सरकार प्रतिबद्ध देखिएको छ। अन्य दल पनि प्रतिबद्ध नै छन्,’ दाहालले भने।
भरतपुरको नयाँ प्रशासकीय भवनको शिलान्यास दाहालले नै २०७८ सालको चैत ११ मा गरेका थिए। सात कट्ठा जमिनमा बनेको ६ तले भवनका लागि संघीय सरकारको २१ करोड ५८ लाख १४ हजार रुपैयाँ, वागमती प्रदेश सरकारको १९ करोड ८९ लाख ३६ हजार रुपैयाँ र महानगरपालिकाको चार करोड ५० लाख रुपैयाँ गरी ५३ करोड ३२ लाख ४१ हजार रुपैयाँ खर्च भएको मेयर रेणु दाहालले बताइन्।
भवनमा ३५० र २५० जना अट्ने दुईवटा हल छन्। विभिन्न महाशाखा र शाखाका लागि साना–ठूला १५८ वटा कार्यकक्ष र आठ वटा मिटिङ हल छन्। सबैभन्दा माथिल्लो तलामा अडिटोरियम हल छ। अन्डरग्राउन्ड पार्किङ भएको भवनमा ५० कार र १५० वटा मोटरसाइकल अट्नेछन्। भवनमा कुल २२१ वटा कोठा रहेको मेयर दाहालले जानकारी दिइन्। तत्कालीन भरतपुर नगर पञ्चायतको २०४३ सालमा उद्घाटन भएको भवनबाट हालसम्म महानगर सञ्चालन हुँदै आएको थियो, जुन भवन जेन-जी आन्दोलनको क्रममा भदौ २४ मा प्रयोगमा आउन नमिल्ने गरी आगोले क्षतिग्रस्त भएको थियो।
