कांग्रेसलाई कमजोर पार्न चाहने राष्ट्रिय-अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्न सकिएन : कोइराला

नेता शेखर कोइरालाले भनेका छन्- 'हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं ।'

माघ १, २०८२

कान्तिपुर संवाददाता

National and international interests that want to weaken the Nepali Congress could not be stopped: Koirala

What you should know

काठमाडौँ — कांग्रेसलाई कमजोर पार्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्वार्थलाई रोक्न नसकिएको बताएका छन् ।

आज एक अपिल जारी गर्दै नेता कोइरालाले यसबीच दृश्यमा देखिएका र नदेखिएका अनेक अन्तरविरोधबाट आफूहरु गुज्रनुपरेको उल्लेख गरेका छने ।'राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ,' उनले भनेका छन् ।

कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनुपर्छ भन्नेमा सबैको इमानदार प्रयास रहे पनि त्यसो हुन नसकेको कोइरालाले उल्लेख गरेका छन् । 'कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भगीरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धूमिल पार्न म चाहन्न । हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन ।' 

केही व्यक्ति र समूहले बीपी कोइरालालाई छाडेर गएको स्मरण गर्दै उनले भनेका छन्, 'बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु ।'  

आफूहरुको सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहासको गौरवलाई जोगाउने जिम्मेवारी रहेको भन्दै कोइरालाले कांग्रेसको संगठनात्मक ऊर्जा प्रस्फुटन भएर मात्र इतिहासले र अग्रज नेताहरुले दिएको जिम्मेवारी पूरा गर्न सक्ने बताएका छन् । 

पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया नरोकिने भन्दै कोइरालाले आह्वान गरेका छन्, 'हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जितहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ ।' जनताको घर दैलोमा भोट माग्न जानुपरेको सन्दर्भ उल्लेख गर्दै उनले छोटो समय भए पनि यथासम्भव कांग्रेसको चुनावी अभियानमा आउने कोसिस रहने बताएका छन् ।

कान्तिपुर

Link copied successfully